नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकर नम्बर २०, सिप्ला सेक्युरिटीज प्रालिलाई निलम्बन गरेको छ । तोकिएको समयमा राफसाफ नगरेको भन्दै सिप्लालाई निलम्बन गरेको हो ।
नेप्सेका वरिष्ठ अधिकृत सन्तोष आचार्यले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पत्रको आधारमा उक्त ब्रोकर कम्पनीलाई तीन कार्य दिनका लागि निलम्बन गरिएको बताए । सीडिएससीले उक्त ब्रोकर कम्पनीले तोकिएको समयमा राफसाफ नगरेको भन्दै सिप्लालाई निलम्बन गर्न नेप्सेलाई पत्र पठाएको थियो ।
नेप्सेले मंगलबार, बुधबार र बिहीबार तीन कार्यदिनका लागि उक्त ब्रोकर कम्पनीलाई निलम्बन गरेको हो । निलम्बन भएसँगै उक्त ब्रोकरबाट लगानीकर्ताले कारोबार गर्न बञ्चित भएका छन् ।
कुनै ब्रोकर कम्पनीले समयमा नै राफसाफ नगरेमा उक्त ब्रोकर कम्पनीको कारोबार निलम्बन गर्ने व्यवस्था रहेका छ । यस्तो व्यवस्थाका कारण लगानीकर्ताले सास्ति झेलेका छन् । कानुनी व्यवस्थामा अनुसार जाँदा ब्रोकरको बदमासीले लगानीकर्तामा असर पुगेको छ । ब्रोकर सञ्चालकलाई जरिवाना गर्नुपर्नेमा कारोबार निलम्बन गर्ने व्यवस्थाको लगानीकर्ताहरूले आलोचना गरेका छन् ।
विद्यमान कानुनी व्यवस्था अनुसार कारोबारको दुई दिनभित्र (टि प्लस टू) मा राफसाफ गर्नुपर्ने व्यवस्था छ । यसअनुसार सेयर बेच्नेले रकम कारोबारको दुई दिनभित्र रकम र सेयर खरिद गर्नेले धितोपत्र प्राप्त गर्ने गर्दछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
