नेप्सेमा मन्दी छाउँदा महङ्गा सेयर मूल्य भएका कम्पनीको कारोबार भने सक्रिय बन्दै

0
Shares

नियामकीय सर्पोट नपाएर निरन्तर घट्दो क्रममा रहेको नेप्सेमा महङ्गा कम्पनीको सेयर काराेबार भने सक्रिय बन्न थालेकाे छ ।यस बीचमा केही कम्पनीकाे सेयर मूल्यमा उच्च वृद्दि देखिएकाे छ भने केही घटेर पनि काराेबारमा सक्रिय बनेका हुन् ।

केही दिन बढेर फेरि घटिहाल्ने बजारको प्रवृत्तिले बजारका कारोबारी धेरै लगानीकर्ता दैनिक सेयर कारोबारमा रमाउन छाडेका छन् । यसले दैनिक रकम र कारोबार संख्या पनि उल्लेखनीय वृद्धि देखिन सकिएको छैन । यद्यपी यहि बेला महङ्गा सेयरमूल्य भएका कम्पनीहरुको कारोबारमा भने सक्रियता बढेको देखिएको हो ।

बोटलर्स नेपाल (बालाजु) लिमिटेड र तराई दुबै कम्पनीको सेयर मूल्य पछिल्ला दिनमा निरन्तरजसो बढ्दै आएको छ । यस्तै सूचीकृत कम्पनीमध्ये सबैभन्दा धेरै सेयर मूल्य रहेको युनिलिभर नेपाल लिमिटेड र हिमालयन डिष्टिलरीको बिहीबार सेयरको भाउ घटेपनि अन्य कम्पनीहरु राष्ट्रिय बीमा कम्पनी, बिशाल बजार र एक हजारभन्दा बढी मूल्य रहेका समाज लघुवित्त, विपीडब्लू लघुवित्त लगायको पनि सेयर मूल्य बढेर कारोबार भएको हो ।

बजार सुस्त रहेको बेला बजारका कारोबारीहरुले सूचीकृत कम्पनीमध्ये महङ्गो सेयर मूलय भएका कम्पनीको सेयरको कारोबार सक्रिय बनाएका हुन् । यसअघि बोर्टलर्स नेपाल, युनिलिभर, राष्ट्रिय बीमा कम्पनी र विशाल बजार जस्ता कम्पनीहरुको नियमित कारोबार हुने गरेको थिएन । पछिल्ला दिनहरुमा नेप्सेमा रौनकता हराउँदै जाँदा त्यस्ता कम्पनीको कारोबार नियमित बन्न थालेको देखिएको हो ।

साताको अन्तिम दिन बिहीबार नेप्से १.४३ प्रतिशत अर्थात २८.६८ अंकले ओरालो लागेर १९७२.०९ बिन्दुमा झरेको छ । कारोबारमा आएका सबै उपसमुहगत सूचक घटेपछि सेन्सेटिभ, फ्लोट, सेन्सेटिभ फ्लोट सबै नकारात्मक बनेको छ ।

बिहीबार ३०९ कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर ४८ हजार ३४९ ओटा संख्यामा किनबेच हुँदा कारोबार २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८ रुपैयाँमा समेटिएको छ । दैनिक कारोबार दिनको तुलनामा ५६ करोड ६ लाख रुपैयाँले बढेको हो । अघिल्लो दिन बुधबार २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ ओटै उपसमुहगत सूचक घटेको छ । यसदिन फाइनान्स सर्वाधिक ३.२१प्रतिशतले घटेको बजारमा हाइड्रोपावर २.६२, ब्यापार २.५१ र होटल तथा पर्यटनमुलक २.२७ प्रतिशतले घटेको छ । विकास बैंक, लगानी, जीवन बीमा, लघुवित्त र अन्यको सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ।

आज पनि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ११ करोड १३ लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै जोशी हाइड्रोपावरको १० करोड १४ लाख ३३ हजार रुपैयाँ, हिमालयन रि इन्स्यारेन्सको ८ करोड ३ लाख ३५ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको ७ करोड ४ लाख २२ हजार रुपैयाँ र शिवम सिमेन्टसको ५ करोड २१ लाख १२ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

बिहीबारको बजारमा बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । यससँगै बोटलर्स नेपाल (बालाजु) लिमिटेडको २१ हजार ६०५ रुपैयाँ पुगेको छ । यस्तै मनकामना स्मार्ट लघुवित्तको ९.८६ प्रतिशत, मानुषी लघुवित्तको ३.९८ प्रतिशत, समाज लघुवित्त ३.९० प्रतिशत र एनएमबी–५० को ३.५९ प्रतिशतले बढेको छ ।

उता आजको बजारमा जोशी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यससँगै कम्पनीको मूल्य ३५० रुपैयाँ ९० पैसामा झरेको छ। यस्तै अपर स्याङ्गे हाइड्रोपावर ८.६२ प्रतिशत, मोलुङ्ग हाइड्रोपावरको ८.०१ प्रतिशत, इङ्वा हाइड्रोपावरको ७.५८ प्रतिशत र एनआईसी एशिया ग्रोथ फन्ड–२ को इकाई मूल्य ७.५७ प्रतिशतले घटेको छ ।

बिहीबारको बजार घटाइपछि कुल बजार पुँजीकरण ३० खर्ब ९९ अर्ब ८६ करोड २० लाख २४ हजार रुपैयाँमा समेटिएको छ । बुधबार बजार पुँजीकरण ३१ खर्ब ४५ अर्ब ५ करोड १४ लाख रुपैयाँ थियो । आज मात्रै ४५ अर्ब १८ करोड ९४ लाख रुपैयाँले बजार पुँजीकरण घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।