सर्वोत्तम सिमेन्टको आईपीओ बुधबार बाँडफाँड गर्ने तयारी, आइतबार प्रि–अलटमेन्ट हुँदै

0
Shares

बुक बिल्डिङ्गबाट पहिलो कम्पनीको रुपमा आईपीओ जारी गरेको सर्वोत्तम सिमेन्टको सेयर फागुन २३ गते बुधबार बाँडफाँडको तयारी गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सिमेन्टको आइतबार प्रि–अलटमेन्ट गरी बुधबार बाँडफाँड गर्नेगरी प्रकृया अगाडि बढाइएको हो ।

आइतबार प्रि–अलटमेन्ट गरी सर्वसाधारणमा बाँडफाँड गर्न स्वीकृतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिने र बोर्डबाट स्वीकृति भएर बुधबार सेयर बाँडफाँड गरिने क्यापिटल स्रोतले जानकारी दिएको छ ।

कम्पनीको आईपीओमा उच्च आवेदन परेकाले प्रति १९ जनामध्ये १ जनाले मात्र ५० कित्ताका दरले आईपीओ हात पार्नेछन् भने १८ जनाको दरले हात खाली हुनेछ । कम्पनीको आईपीओ कुल ५५ हजार ५२१ जना आवेदकले मात्रै पाउनेछन् । सेयर पाउनेमध्ये २६ जनाले थप १ कित्ताका दरले ५१ कित्ता हात पार्नेछन् ।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का अनुसार अन्तिम दिनसम्ममा कुल १० लाख १५ हजार २११ ओटा आवेदनबाट मागको तुलनामा १९.३७ गुणा बढी अर्थात ५ करोड ३७ लाख ७७ हजार ८७० कित्ताको माग परेको छ । यो प्रारम्भिक तथ्याङ्क हो । प्रमाणिकरण तथ्याङ्क आउँदा रद्द आवेदक घट्ने हुँदा केही घट्नेछ ।

सिमेन्टले सर्वसाधारणबाट २७ लाख ७६ हजार ७६ कित्ता खरिदका लागि आह्वान गरेको थियो । अन्तिम दिन बुधबारसम्म आईपीओमा १९ अर्ब ४० करोड ८४ लाख ३३ हजार २८३ रुपैयाँ बराबरको सेयर खरिदका लागि माग परेको हो ।

कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सेयर बिक्रीमा ल्याएको हो । यसअघि धेरैजसो कम्पनीको अंकित मूल्य १०० रुपैयाँमा आईपीओ बिक्री खुला हुँदै आएको थियो । महङ्गो मूल्यमा बिक्रीमा आएको कम्पनीको सेयर खरिदमा पनि लगानीकर्ताको उत्तिकै आकर्षण देखिएको हो ।
सर्वोत्तम सिमेन्टले फागुन १३ गतेदेखि सर्वसाधारणमा स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको अवितरित ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि १८ हजार ४५ रुपैयाँदेखि अधिकतम १० हजार कित्ताका लागि ३६ लाख ९ हजार रुपैयाँसम्मका लागि आवेदन दिन पाउने व्यवस्था थियो ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह–निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।