नेप्सेमा ३.३८% करेक्शन, ७० अंकले ओरालो लागेपछि २००७ बिन्दुमा झर्यो

0
Shares

नयाँ सत्ता समीकणको प्रभावले सोमबार ६ प्रतिशत अर्थात ११७.७० अंकले बढेको बजार मंगलबार नै ३.३८ प्रतिशतले घटेको छ । सोमबार करिब ४ मिनेट कारोबार भएर बीचमै रोकिएको बजारमा मंगलबार ७०.३१ अंकको करेक्शन आएको हो ।

मंगलबारको घटाइसँगै बजार सूचक नेप्से २००७.६९ बिन्दुमा झरेको छ । यसदिन ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स ११.९७ अंक, कारोबारयोग्य सेयरहरुको सूचक मापक फ्लोट इन्डेक्स ४.७६ अंक र सर्वसाधारणमा रहेको सेयरको मात्र सूचक मापक सेन्सेटिभ फ्लोट ३.९७ अंकले ओरालो लागेको छ ।

आज नेप्सेमा सूचीकृत ३१६ कम्पनीको १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९५८ रुपैयाँ बराबरको करोबार भएको छ ।बढको मौका छोपी सेयर बिक्री चाप बढेपछि आज कारोबार रकममा उच्च सुधार आएर चार अर्ब नाघेको हो । यसअघि ३ अर्बभन्दा कम कारोबार हुँदै आएको थियो । 

यसदिनको बजारमा म्युचुअल फन्डबाहेक सबै १२ ओटै उपसमुहगत सूचक घटेका छन् । कारोबारमा आएका १३ मध्ये अन्यको सर्वाधिक ४.३५ प्रतिशत, जलविद्युत ४.३० प्रतिशत र उत्पादन तथा प्रशोधनमुलक ४.२० प्रतिशतले घटेको छ । बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटनमुलक, लगानी र जीवन बीमाको इन्डेक्स ३ प्रतिशतभन्दा बढीले घटेको छ ।

नेप्से ओरालो लागेपछि कमाउने भन्दा गुमाउने कम्पनीहरुको सङ्ख्या अत्याधिक छ । आज २३३ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने ७१ कम्पनीका लगानीकर्ताले कमाएका छन् । १२ कम्पनीको सेयर मूल्यमा कुनै फेरबदल भएन ।

सर्वाधिक कारोबारमा आज पनि सोनापुर मिनरल्स एण्ड आयल रहेको छ । कम्पनीको ४१ करोड ९१ लाख १६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै शिवम सिमेन्टसको २४ करोड ६५ लाख, घोराही सिमेन्ट १४ करोड ३१ लाख, जोशी हाइड्रोपावरको १३ करोड १९ लाख, हिमालयन रि इन्स्योरेन्सको १२ करोड ८१ लाख, मोलुङ्ग हाइड्रोपावरको ९ करोड ३५ लाख, हिमालयन डिष्टिलरीको ८ करोड २५ लाख रुपैयाँ र एनआरएन इन्फ्रास्टक्चरको ७ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ।

आजको बजारबाट गुराँस लघुवित्तका लगानीकर्ताले सर्वाधिक ८.७३ प्रतिशतले कमाएका छन् । त्यस्तै, महिला लघुवित्त ४.११, मोलुङ्ग हाइड्रोपावरको ३.४१, किसान लघुवित्तको २.५८ र सिंगटी हाइड्रोपावरका लगानीकर्ताले २.६६ प्रतिशतले नाफा गरेका छन् ।

मंगलबार बोटलर्स नेपाल लिमिटेड र जोशी हाइड्रोपावरको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । दश प्रतिशतले मूल्य घटेसँगै बोटलर्स नेपाल लिमिटेडको प्रतिकित्ता २० हजार ९६२ रुपैयाँ र जोशी हाइड्रोपावरको ३४६ रुपैयाँमा झरेको छ । यसैगरी बोटलर्स नेपाल तराइको ९.४५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ८.६४, विपीडब्लू लघुवित्तको ८.३१, मनकामना स्मार्ट लघुवित्तको ८.२३, बाराही हाइड्रोपावरको ७.८२ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको ७.३८ प्रतिशतले घटेको छ ।

मंगलबारको बजार घटाइपछि कुल बजार पुँजीकरण ३१ खर्ब ५५ अर्ब ८२ करोड ७१ लाख ३७ हजार रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन सोमबार कुल बजार पुँजीकरण ३२ खर्ब ६६ अर्ब ३४ करोड ९२ लाख रुपैयाँमा समेटिएको छ । आज मात्रै १ खर्ब १० अर्ब ५२ करोड रुपैयाँले बजार पुँजीकरण घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।