बाराही हाइड्रोपावरले पायो हकप्रद निष्कासनको पूर्वस्वीकृति

0
Shares

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद सेयरको सार्वजनिक निष्काशनको लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त गरेको छ।

विद्युत नियमन आयोगबाट फागुन २२ गते बसको २२५ औं बैठकको निर्णय अनुसार कम्पनीलाई शतप्रतिशत हकप्रद सेयरको सार्वजनिक निष्काशनको लागि स्वीकृति दिइएको कम्पनीका सञ्चालन तथा अनुपालन अधिकृत सन्दिप कुमार शर्मा पौडेलले जानकारी दिए ।

आयोगले कम्पनीको हाल कायम चुक्ता पुँजी २५ करोडको १ बराबर १ अनुपातले हुने २५ लाख कित्ता हकप्रद जारी गर्न स्वीकृति दिएको हो । यससँगै अब कम्पनीले साधारण सभाबाट अनुमोदन गराएर पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डसँग स्वीकृतिका लागि अनुमति माग्नेछ ।

विद्युत नियमन आयोग नियमावली, २०७५ को नियम ४५ बमोजिम तोकिएको शर्तहरुको पालना गर्ने गरी कम्पनीको हालको चुक्ता पुँजी २५ करोड रुपैयाँको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति प्रदान गरिएको आयोगका लेखा अधिकृत श्यामहरि विजुक्षेले बताए ।

हाइड्रोपावरले हकप्रद सेयर निष्काशनको पूर्व स्वीकृतिका लागि माघ १६ गते आयोगमा निवेदन पेश गरेको थियो ।  कम्पनीको गत पुस २९ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट चुक्ता पुँजी बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले १.५० मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी हो ।

वित्तीय अवस्था कमजोर

बाराही हाइड्रो पावर पब्लिक लिमिटेडले अघिल्लो पुसको तुलनामा सञ्चालन, ह्रासकट्टी र अमोटाइजेशन खर्च बढेपछि कम्पनीले नोक्सानीमा सुधार गरेपनि नाफामा पुग्न सकेको छैन । कम्पनीको वित्तीय अवस्था भने कमजोर देखिएको छ । वित्तीय अवस्था कमजोर देखिएपनि दोस्रो बजारमा सेयरको आपूर्ति कम हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९५ रुपैयाँमा कारोबार भैरहेको छ । सेयरको आपूर्ति कम भएका यस्ता कम्पनीमा कारोबारीहरुको सेयर मूल्यमा ज्यदा नै चलखेल हुने गरेको छ ।  

गत आर्थिक वर्षको चौथो त्रैमासमा ५५ लाख ६८ हजार रुपैयाँ घाटामा रहेको कम्पनी २०८० पुसमा आइपुग्दा १२ लाख ३० हजार रुपैयाँ नोक्सानीमा छ । कम्पनीले ६ महीना अवधिमा केही वृद्धि गर्दै २ करोड १० लाख ११ हजार रुपैयाँको विद्युत बिक्री गरेको छ । यस्तै कम्पनीको वित्तीय खर्च १९ लाख घटेर १ करोड २१ लाख कायम हुँदा प्रशासनिक खर्च साढे ३० लाखले घटेर ११ लाख ४४ हजार कायम भएको छ । कम्पनीको सञ्चालन खर्च ७ लाख ७५ हजार बढेर २६ लाख ६८ हजार रुपैयाँ पुगेको छ । यस्तै अमोटाइजेशन करिब ७ लाख बढेर ६२ लाख ४९ हजार पुगेको छ ।

चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी ४९ पैसा नोक्सानीमा रहँदा प्रतिसेयर नेटवर्थ ५७ रुपैयाँ मात्र छ । यस्तै जगेडा कोष १० करोड ७४ लाख ९३ हजार रुपैयाँले ऋणात्मक छ । कम्पनीसँग १९ करोड ८ लाख बढीको दीर्घकालीन ऋण दायित्व छ । चालु दायित्वतर्फ ८४ लाख ऋण तथा ३ करोड २ लाख बराबरको ब्यापार तथा अन्य भुक्तानी गर्न बाँकी छ ।

बागलुङको कुस्मिसेरामा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । म्पनीले २०७४ असार २४ गतेदेखि ठेउले खोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।