अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चङ्खेली–३ ब्याफु खानेपानी मर्मत योजनाका सन्दर्भमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरूमाथि आयोगले बिहीबार मुद्दा दायर गरेको हो ।
आयोगले तत्कालीन अध्यक्ष धनलाल चौलागाईंविरुद्ध पाँच लाख १५ हजार रुपैयाँबराबरको बिगो दाबी गरेको छ । यस्तै प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर र सवइन्जिनियर हर्कधन बुढाविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।
उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष वीरकुल्ली बुढाविरुद्ध पनि समान बिगो दाबी गरिएको छ । वडा नं ३ का तत्कालीन वडाध्यक्ष शालिग्राम एडीविरुद्ध भने भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
त्यस्तै मुगुको सोरु गाउँपालिका–९ मा सिँचाइ कुलो निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर तथा कार्यालय प्रमुख देवीप्रसाद पाण्डे लगायतविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आयोगले पाण्डेविरुद्ध १४ लाख १७ हजार रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।
यसैगरी जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन इन्जिनियर महेशसिंह कठायतविरुद्ध १२ लाख ३६ हजार र सवइन्जिनियर भीमबहादुर रोकायाविरुद्ध १लाख ९१ हजार रुपयाँबराबरको बिगो दाबी गरिएको आयोगले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया