मिर्मिरे लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्पन्न भई फागुन ३० गते बुधबारदेखि एकीकृत कारोबार सुरू भएको छ ।
काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त र मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्तबीच मर्जर सम्पन्न भई नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ को नामबाट एकीकृत कारोबार सुरू भएको हो ।
राष्ट्रियस्तरको कार्यक्षेत्र रहेका दुई कम्पनीहरू एक आपसमा मर्जरपछि एकीकृत कम्पनीको चुक्ता पुँजी १ अर्ब ३८ करोड रुपैयाँ नाघेकाे छ । एकीकृत संस्थाको जगेडा कोषको आकार एक अर्ब नाघेको छ भने रिटेर्न अर्निङ्गमा १ करोड ४ लाख सञ्चित छ । एकीकृत संस्थाको कुल निक्षेप ६ अर्ब २५ करोड कर्जा लगानी १९ अर्ब नाघेको छ । यस्तै शाखा सञ्जाल संख्या २५०, सेवाग्राही संख्या ३ लाख र कर्मचारी संख्या १ हजार ३०० पुगेको छ । मिर्मिरे लघुवित्तसंग यसअघि स्वेडा लघुवित्त, नागबेली लघुवित्त र बुद्दज्योती लघुवित्त बिलय भैसकेको छ ।

दुई लघुवित्तबीच एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति दिएपछि एकीकृत कारोबारको भएको हो । गत वैशाख १० गते सम्पन्न छुट्टा छुट्टै विशेष साधारण सभाले १ः१ अनुपातको समान सेयर स्वाप रेसियो मर्जर हुने प्रस्ताव पारित भएको थियो । धितोपत्र बोर्डले कात्तिक २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । दुई संस्थाबीच २०७९ पुस ११ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नम्बर ८ काभ्रेपलाञ्चोकमा रहने भएको छ । दुवै संस्थाका मर्जर र एक्विजिसन समिति संयोजकमा मणि कुमार अज्र्याल र सन्तोष फुयाँल थिए ।
सञ्चालक समिति अध्यक्षमा हालको मिर्मिरे लघुवित्तका अध्यक्ष टेक बहादुर बोहोरा र प्रमुख कार्यकारी अधिकृतमा नेरुडेका भोजराज बस्यालले निरन्तरता पाएका छन् । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर राज जोशी स्वेच्छिक अवकासमा गएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
