आन्तरिक ऋण उठाउन ७ अर्ब ६९ करोडको विकास ऋणपत्र जारी

0
Shares

आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ७ अर्ब ६९ करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ । सोही क्रममा विकास ऋणपत्र बिक्रीका लागि नेपाल राष्ट्र बैंकले सूचना आह्वान गरेको छ ।

ऋणपत्रका लागि बिहीबार (चैत ८ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । चैत ९ गते (शुक्रबार) राष्ट्र बैंकले ऋणपत्र बिक्री जारी गर्ने जनाएको छ । ‘विकास ऋणपत्र २०८६ ‘ड’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ६ वर्ष छ । ऋणपत्रको अविध ०८६ चैत ९ मा सकिनेछ भने आर्जित ब्याजमा ब्याजकर लाग्ने सूचनामा उल्लेख छ ।

ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ ।

ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।