नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको करिब २ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा उक्त रकम राख्न खोजेको हो ।
केन्द्रीय बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ५२ करोड ८९ लाख, विकास बैंकहरुमा २८ करोड ६६ लाख र फाइनान्स कम्पनीहरुमा ९ करोड ५५ लाख गरी कुल १ अर्ब ९१ करोड १० लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो ।
केन्द्रीय बैंकले उक्त निक्षेप २०८१ बैशाख २ गतेदेखि २०८२ बैशाख १ गतेसम्म ३६६ दिन अवधिको लागि राख्न लागेको हो । उक्त निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले चैत ८ गतेसम्ममा ब्याजदर प्रस्ताव पेश गरिसक्नुपर्ने छ । राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम हुनुपर्ने छ ।
त्यसैगरी, निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको सेयर जारी गरिसकेको हुनुपर्ने जस्ता शर्तहरु तोकिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
