नेप्से दोहोरो अंकले बढ्यो, उत्पादनमुलक र जलविद्युतका सेयरमा आकर्षण

0
Shares

सेयर बजारमा कारोबार सुस्ताउँदै गर्दा लगानीकर्ताको आकर्षण भने उत्पादनमुलक र जलविद्युत कम्पनीको सेयरमा देखिएको छ । नेप्सेमा आम लगानीकर्ताको आकर्षण घट्दै गर्दा खासगरी कम पुँजी भएका कम्पनीको सेयरमा कारोबारीहरुले खेल्न थालेका हुन् ।

कारोबार खुलेपछिका पाँच कारोबार दिनदेखि सर्वोत्तम सिमेन्टको सेयरमा सकारात्मक सर्किट लाग्दै आएको छ। यस्तै अन्य सिमेन्टको भाउ पनि आज सामान्य बढेका छन् भने युनिलिभरको पनि सामान्य वृद्धि भएको छ । यसले उत्पादनमुलक इन्डेक्स वृद्धिमा टेवा मिलेको हो । यस्तै थोरै चुक्ता पुँजी भएका र केही महीनाअघिदेखि कारोबार खुलेका जलविद्युत कम्पनीको सेयर मुल्य बढ्दा यस क्षेत्रमा समेत राम्रै वृद्धि देखिएको छ । मंगलबार उत्पादन तथा प्रशोधनमुलक उपसमुहगत सूचक २.११ प्रतिशत र जलविद्युत १.५८ प्रतिशतलले बढेको छ । कुल १३ मध्ये आज फाइनान्स, जीवन बीमा र ब्यापार मात्र सामान्य घटेका छन् ।

सोमबार १७.०१ अंकले घटेर बन्द भएको सेयर बजार मापक सूचक नेप्से मंगलबार १०.१४ अंकले बढेको छ । यससँगै सूचक नेप्से परिसूचक २०४१.७० बिन्दुमा कायम भएको छ । यसअघि सोमबार सहित लगातार चार दिनमा नेप्से ४१.९६ अंकले घटेको थियो ।

दोहोरो अंकले बढेको आजको बजारमा २०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको सेयर मूल्य घटेको छ । २० कम्पनीको मूल्य स्थीर रहेको छ । आज दिनभरमा ३१० कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता सेयर ४९ हजार ५१२ पटक किनबेच हुँदा कारोबार रकम २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५०३ रुपैयाँमा समेटिएको छ ।सोमबार २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यसदिन शिवम् सिमेन्टको ५३० रुपैयाँमा सबैभन्दा धेरै ९ करोड ३१ लाख ३९ हजार रुपैयाँको बराबरको कारोबार भएको छ । यस्तै सोनापुर मिनरल्स एण्ड आयलको ४८७ रुपैयाँमा ८ करोड ५७ लाख ५२ हजार, जोशी हाइड्रोपावरको ३५४ रुपैयाँमा ८ करोड २९ लाख ४० हजार, गोर्खाज फाइनान्सको ८७८ रुपैयाँमा ८ करोड ७ लाख ८२ हजार रुपैयाँ, र हिमालयन रि इन्स्योरेन्सको ६०८ रुपैयाँमा ६ करोड ३५ लाख ३१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

आजको बजारमा दोल्ती पावर कम्पनी र सर्वोत्तम सिमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यससँगै दोल्ती पावरको प्रतिकित्ता मूल्य ४३०.१० रुपैयाँ र सर्वोत्तमको ८९५.१० रुपैयाँ पुगेको छ । यसैगरी वीन नेपाल लघुवित्तको ९.४३ प्रतिशत, .पिपुल्स पावरको ७.७३ प्रतिशत र थ्रीस्टार हाइड्रोपावरको ६.७६ प्रतिशतले बढेको छ ।

उता धौलागिरी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.३५ प्रतिशतका दरले गुमाउँदा १३९९.६० रुपैयाँमा झरेको छ । यस्तै भगवती हाइड्रोपावरको ४.७५ प्रतिशत, कुमारी धनवृद्धि योजनाको ४.३६ प्रतिशत, लक्ष्मी भ्यालू फन्ड–२ को ३.६८ प्रतिशत र मानुषी लघुवित्तको सेयर मूल्य ३.०६ प्रतिशतले घटेको छ ।

मंगलबारको वृद्धिसँगै कुल बजार पुँजीकरण ३२ खर्ब ३७ अर्ब ३६ करोड २६ लाख ७८ हजार रुपैयाँ कायम भएको छ । आज मात्रै १६ अर्ब ८ करोड १० लाख रुपैयाँले बजार पुँजीकरण बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।