नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा पौने ४ अर्ब, सेयरधनी कोष साढे ५५ अर्ब माथि

0
Shares

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब १३ करोड रूपैयाँ र कुल सेयरधनी कोष ५५ अर्ब ६० करोड रूपैयाँ पुगेको छ । यो साबिक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडबीच मर्जर सम्पन्न भई एकीकृत कारोबार भएपछिको तथ्याङ्क हो ।

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल एक आपसमा गाभिई २०७९ पुस २७ गतेदेखि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन गरेको थियो। नेपाल राष्ट्र बैंकले बैंकहरुको संख्या घटाउन लिएको मर्जर नीतिलाई समर्थन गर्दै दुई बैंक एक भएका थिए ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष २०७९–८० मा ३ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चैत २० गते मंगलबार सम्पन्न ३७ औं वार्षिक साधारण सभामा यस्तो जानकारी गराइएको हो । साविक मेगा बैंक नेपालसँग मर्जरको कारणले आय–व्ययको रकम अघिल्लो वर्षसँग तुलना नगरिएको बैंकले जनाएको छ । आव २०७९/८० मा बैंकले सेयरधनीलाई कुनैपनि लाभांश दिएन । यससँगै यो वर्ष सेयरधनीको हात खाली बनेको छ ।

आव २०७८–७९ मा साविक नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको गरी कुल निक्षेप ३ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा १६ अर्ब ९७ करोड रुपैयाँले वृद्धि भई आव २०७९–८० को अन्त्यमा ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी बैंकको कुल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ छ । अघिल्लो आवको अन्त्यमा साविक नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपालको गरी कुल कर्जा तथा सापटी रकम ३ खर्ब १४ अर्ब रुपैयाँ रहेको थियो ।

हाल बैंकले २९६ शाखा, २८२ एटिएम, १६ राजस्व संकलन काउन्टर सहित ६३ एक्टेन्सन काउन्टर र ४६ शाखारहित बैंकिङमार्फत ३२ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ । गुणस्तरीय सेवा तथा सुविधा प्रदान गरेका कारण समीक्षा अवधिमा बैंकले अन्तराष्ट्रिय प्रकाशन–‘युरोमनीबाट बेस्ट बैंक २०२३’ को उपाधि समेत प्राप्त गर्न सफल भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।