अरुण तेश्रो जलविद्युत परियोजनाको मूल्य समयोजनको विषयमा अध्ययन गर्न अर्थ मन्त्रालय राजश्व व्यवस्थापन महाशाखा प्रमुख धनीराम शर्माको संयोजकत्वमा एक अध्ययन समिति गठन भएको छ। अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष वर्षमान पुनको अध्यक्षतामा अनुगमन तथा सहजीकरण समितिको मंगलबार सम्पन्न भएको ११ औं बैठकले उक्त निर्णय गरेको हो ।
समितिको बैठकमा अरुण तेश्रो जलविद्युत परियोजनाको विकासकर्ता कम्पनी एसएपीडिसीबाट माग भएको मूल्य समायोजन अनुसारको रकम सटही एवं स्थानान्तरण, अरुण तेश्रो परियोजनाको ड्याम साइट पहुँच मार्गका रूपमा प्रयोग भैरहेको कोशी राजमार्गको खाँदबारी–दोभान सडक खण्ड स्तरोन्नति र यस परियोजनाको पावर हाउस प्रवेश मार्ग छपाइकुटीदेखि दिदिङसम्मको (२४.५ किलोमिटरको) मुआब्जाको समस्या समाधानका साथै होङ्सी शिवम् सिमेन्टको पहुँच सडक स्तरोन्नति सम्बन्धी विषयहरूमा छलफल भएको थियो ।
साथै बैठकले खाँदबारी दोभान सडक खण्डको स्तरोन्नतिको कार्य द्रुत गतिमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ । होङ्सी शिवम् सिमेन्टको पहुँच मार्ग स्तरोन्नतिको लागि सम्बन्धित निकायबाट बजेटको प्रस्ताव गरी व्यवस्थापन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
उक्त बैठकमा लगानी बोर्डको कार्यालयका सहसचिव प्रद्युम्न प्रसाद उपाध्यायले १० औं बैठकको निर्णयको कार्यान्वयन अवस्था र ११ औं बैठकको कार्यसूचीको संक्षिप्त प्रस्तुतीकरण गरेका थिए ।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्ड पश्चात अत्यन्तै महत्वपूर्ण संयन्त्रको रुपमा रहेको अनुगमन तथा सहजीकरण समितिको अधिकार र परियोजनाको कार्यान्वयन र सहजीकरणमा यसको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको विचार व्यक्त गरे ।
बैठकमा प्रस्तुत भएका विभिन्न परियोजनाहरुको सहजीकरण गर्नुपर्ने विषयको जानकारी लिँदै अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष पुनले परियोजना प्रभावकारी सहजीकरणका लागि जिम्मेवार सबै निकायहरूलाई आवश्यक कार्य तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिए ।
बैठकमा विभिन्न मन्त्रालयका सचिवहरु र सहसचिवहरू तथा लगानी बोर्डका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
