लगानी बोर्डद्धारा हुवासिन सिमेन्टको ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत

लगानी बोर्डद्धारा हुवासिन सिमेन्टको ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत

हुवासिन सिमेन्टमा ६ अर्ब ६३ करोड लगानी थप गर्न स्वीकृति प्रदान गरिएको छ । लगानी बोर्डको बिहीबारको बैठकले थप लगानी स्वीकृत गरेकाे हाे । यससँगै उद्योगको लगानी २१ अर्ब  पुगेको छ । उद्योगमा यसअघि नै १४ अर्ब ४० कराेड लगानी भैसकेको छ ।

विश्व महामारी कोरोना भाइरस संक्रमण र बाढी ले उद्योगको लागत बढाएपछि सो लागत अनुसार लगानी बढाउने प्रस्ताव कम्पनीले बोर्डमा पेश गरेको थियो । सोही अनुसार बोर्डले थप लगानी स्वीकृत गरेको हो ।

कम्पनीका निर्देशक डिल्लिराज पोख्रेलले भने ‘बाढी र कोभिडले उद्योगको लागत बढाएको थियो, सो लागत अनुसार लगानी बढाउने प्रस्ताव बोर्डमा पेश गरेका थियौं । बिहीबार बसेको बोर्ड बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ ।’

निर्माणाधिन उद्योगमा बाढी पस्दा कम्पनीले ठूला क्षति बेहोर्नु परेको थियो । यस्तै कोभिडको प्रकोपले पनि उद्योग सञ्चालनमा थप लागत बढेको थियो ।

उद्योगले दैनिक तीन हजार टन सिमेन्ट र क्लिन्कर उत्पादन गर्छ। आफ्नै गुणस्तरीय खानीबाट उत्पादित चुनढुङ्गाबाट क्लिन्कर र सिमेन्ट उत्पादन गर्दै आएको छ । नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ लगानी बोर्डले प्रख्यात चिनियाँ कम्पनी हुवासिनसँग सम्झौता गरी काम अगाडि बढाएको थियो ।

बोर्डका अनुसार २०७२ पुस ५ गते वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले स्वीकृति दिएको थियो। बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङबीच २०७५ असार ६ गते उद्योग स्थापनाका लागि सम्झौतापत्रमा चीनको राजधानी बेइजिङमा हस्ताक्षर भएको थियो।

यस्तै खानी विभागले २०७४ मङ्सिर १२ मा हुवासिनलाई धादिङको पानीखर्कमा खानी उत्खनन गर्न अनुमति दिएको थियो। खानीका लागि चिनियाँ प्रवर्द्धकले ६० करोड बराबरको लगानी गरेको थियो। उद्योगमा ३५० जनाले प्रत्यक्ष र १ हजारले अप्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।

नेपालमा हाल झण्डै ३५ लाख मेट्रिक टन सिमेन्टको माग छ । नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको कूल जडित क्षमता ५५ लाख मेट्रिक टन पुगिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ चैत २०८०, बिहीबार १४ : ०६ बजे