नक्कली तथा झुठा बिल भर्पाइ पेस गरी भ्याट अर्थात् मूल्य अभिवृद्धि कर छल्ने मकवानपुरका ९ जना व्यवसायीलाई छलिएको राजस्वसहित जरिवाना गरिएको छ ।
आन्तरिक राजस्व कार्यालय हेटौँडाका अनुसार ती व्यवसायी माथि जरिवानासहित ६ करोड २७ लाख ६८ हजार १५८ रुपैयाँ कर निर्धारण गरिएको छ । साथै जरिवानासहित निर्धारण गरिएको रकम बुझाउनका लागि आन्तरिक राजस्व कार्यालय हेटौँडाले ताकेतासमेत गर्दै आएको जनाएको छ ।
कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार नक्कली तथा झुठा बिल भर्पाइ पेस गरी राजस्व छल्नेमाथि लामो समयको अनुसन्धानपश्चात् जरिवानासहित कर निर्धारण गरिएको छ । तोकिएको राजस्व बुझाउनका लागि सम्बन्धित व्यवसायीलाई पटकपटक पत्रसमेत दिइएको बताइएको छ ।
कार्यालयबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्म राजस्व छल्ने काम भएको तथा त्यसबापत जरिवानासहित रु छ करोड २७ लाख ६८ हजार एक सय ५८ राजस्व तोकिएको उनले बताए । ती ९ जना व्यवसायीवाट मूल्यअभिवृद्धि करको नक्कली बिलबापत रु एक करोड ७५ लाख १३ हजार ७८८ रुपैयाँ तथा थप जरिवानासहित आयकर निर्धारण ४ करोड ५२ लाख ५४ हजार ३७० रुपैयाँ गरी कूल ६ करोड २७ लाख ६८ हजार १५८ रुपैयाँ राजस्व वक्यौता रहेको छ ।
पटकपटक ताकेता गरेपछि एक जना व्यवसायीबाट १ लाख ३४ हजार ९३८ रुपैयाँ मूल्य अभिवृद्धिकरसहित जरिवाना रकम असुल भइसकेको सो कार्यालयले जनाएको छ ।
यसैबीच सो कार्यालयले चालू आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्ममा ४ अर्ब ६ करोड ३८ लाख राजस्व सङ्कलन गरेको छ । प्राप्त विवरणमा सो अवधिमा आयकरतर्फ ७१ करोड ४३ लाख रुपैयाँ तथा अन्तशुल्कबापत २ अर्ब २४ करोड रुपैयाँ तथा मूल्य अभिवृद्धिकर बापत ७१ करोड ४६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ । सो राजस्व लक्ष्यको ७६ प्रतिशत सङ्कलन भएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
