नबिल स्टक डिलर लिमिटेडको प्रमुख कार्यकारी अधिकृतबाट सुरेश देवकोटा बाहिरिएका छन् । उनले ब्यक्तिगत कारणले राजीनामा दिएका हुन् । चार्टर्ड एकाउन्टेन्ट देवकोटा गत असोज २१ गते चार वर्षका लागि कम्पनीको कार्यकारी प्रमुख नियुक्त भएका थिए ।
नबिल स्टक डिलरको सञ्चालक समितिले चैत २६ गतेबाट लागू हुनेगरी देवकोटाको राजीनामा स्वीकृत गरेको छ । निजी क्षेत्रको पहिलो नबिल बैक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित नबिल स्टक डिलरको संस्थापनाकालदेखि उनी संलग्न थिए ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक नबिल स्टक डिलरले ६ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । देवकोटाको नेतृत्वमा नबिल स्टक डिलरले छोटो समयमा नै उत्कृष्ट नतिजा दिइरहेको थियो । करिब दुई दशक लामो बैकिङ्ग क्षेत्रको अनुभव हासिल गरेका देवकोटा नबिल स्टक डिलरको कार्यकारी प्रमुख बन्नु अगाडि नबिल बैक लिमिटेडको प्रमुख लगानी अधिकृतको रुपमा कार्यरत रहेका थिए । देवकोटाले त्रिभुवन विश्वविद्यालयबाट ब्यवस्थापन शास्त्रमा स्नातकोत्तर पनि गरेका छन् ।

नबिल बैंकले पुँजीबजारको विकासमा योगदान र्पुयाउने उद्देश्यले स्थापना गरेको नबिल सेक्युरिटिज नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यापारी (स्टक डिलर) को रूपमा अनुमतिप्राप्त वित्तीय संस्था हो । चुक्ता पुँजी १ अर्ब ५२ करोड रहेको यस संस्थाले स्टक डिलर, मार्जिन कर्जा सेवा, पूर्णकालीन धितोपत्रदलाल सेवा, लगानी व्यवस्थापन, प्रत्याभूति सेवा, लगानी परामर्श सेवालगायतका सेवाहरू प्रदान गर्ने गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
