बजारमा लगानी रणनीति फेर्दै सेयर लगानीकर्ता, एकबाट ‘प्रोफिट बुक’ गरेर अर्कोमा लगानी ‘सिफ्ट’

0
Shares

सेयर बजारमा लामो समयदेखि कारोबारीको उत्साहजनक उपस्थित नरहेपनि चैत मसान्तको कर्जाको सावाँ तथा ब्याजको तनाव हट्न थालेपनि दैनिक कारोबार रकम ४ अर्ब माथि पुगेको छ ।

लघुवित्तको ऋण मिनाहा गर्नुपर्नेमाग राख्दै राजधानी केन्द्रित आन्दोलन थालेको संघर्ष समतिलाई सरकारी वार्ता समितिले सम्झौता गरेर फर्काएपछि लामो समयदेखि सुस्त रहेको लघुवित्तको सेयरमा चकम फर्कन पुग्यो । सोभन्दा अघि भर्खरै सेयर कारोबार खुलेका न्यून आपूर्ति रहेको र कम पुँजी भएका जलविद्युत कम्पनीको सेयर मूल्यमा कारोबारीको अधिक आकर्षण रहेको थियो ।

यो वर्ष सकिन लाग्दै बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको तेस्रो त्रैमासिक अवधिको किस्ता तथा करको झमेलाबाट लगानीकर्ता मुक्ता भएका छन् । यसले सेयर बजारमा लगानीकर्ताको उपस्थिति विस्तारै बाक्लिन थालेको छ ।

बजारमा दैनिक कारोबार साढे दुई अर्बबाट साढे १ अर्ब बढेर ४ अर्ब नाघ्न थालेपछि अल्पकालीन लगानीकर्ताहरुले एक समुहबाट भएको नाफा सुरक्षित गरेर अर्को समुहका कम्पनीको धितोपत्रमा लगानी गर्ने प्रवृत्ति देखिएको छ । सोही कारण मंगलबार वित्त, अन्य र निर्जीवन बीमा कम्पनीमा लगानीकर्ताले लगानी बढाएका छन् । यसअघि नाफा आर्जन भएका लघुवित्त, उत्पादन तथा प्रशोधनमुलक र जलविद्युत क्षेत्रमा भएको नाफा सुरक्षित गरेर सेयर लगानीकर्ताहरुले अब क्षेत्रगत लगानीमा जोडदिएका हुन् । यसले लघुवित्त, जलविद्युत र उत्पादनमुलक कम्पनीका सेयर मूल्य घट्दा फाइनान्स, अन्य र निर्जीवन बीमा कम्पनीको सेयरमा आकर्षण बढ्दा ती कम्पनीको धितोपत्र धेरै बढेका छन् ।

मंगलबार सेयर बजार परिसूचक नेप्से ९.१९ अंकले बढेर २०३६.०१ विन्दुमा पुगेको छ । मंगलबार ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँ बराबरको ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर ७२ हजार २६१ओटा संख्यामा कारोबार भएको छ ।

आजको बजारमा ३५% लाभांश घोषणा गरेको सुर्यज्योति लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै १८ करोड ८ लाख १० हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै गोर्खाज फाइनान्सको १६ करोड ५ लाख, हिमालयन रि इन्सयोरेन्सको १५ करोड ४५ लाख, नेपाल फाइनान्सको १५ करोड ३६ लाख र पोखरा फाइनान्सको १० करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार कित्ताको आधारमा ३ लाख ६१ हजार सहितसुर्यज्योति लाइफ इन्स्योरेन्स र कारोबार संख्याको आधारमा ४ हजार १६१ सहित हिमालयन रि इन्सयोरेन्स शीर्ष स्थानमा रहेको छ ।

मंगलबार कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये फाइनान्स उपसमुहगत सूचकमा लगानीकर्ताको आकर्षण कायमै देखिएको छ । वित्तको इन्डेक्स २.७९ प्रतिशतले बढेको छ । अन्य उपसमूहको सूचक २.४२ प्रतिशत र निर्जीवन बीमा उपसमूहको सूचक १ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधनमुलक सर्वाधिक १.४६ प्रतिशतले घटेको बजारमा लघुवित्त १.१४ प्रतिशत र होटल तथा पर्यटनमुलक ०.६८ प्रतिशतले घटेको छ । बाँकी १० ओटा उपसमूहगत सूचक सकारात्मक छन् ।

मंगलबारको बजारमा जानकी फाइनान्स, नेपाल फाइनान्स, पोखरा फाईनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै इमजिङ्ग नेपालको ८.४५ प्रतिशत, प्रभु स्मार्ट फन्डको ८.३० प्रतिशत, उन्नति सहकार्य लघुवित्तको ७.७४ प्रतिशत र दोल्ती पावरको सेयरको भाउ ७.३७ प्रतिशतले बढेको छ ।

यता आजको बजारबाट वीन नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । महुली लघुवितको ५.३३ प्रतिशत, सबैको लघुवित्तको ४.४२ प्रतिशत, समता लघुवित्तको सेयर मूल्य ४.४२ प्रतिशत र बुद्धभुमि नेपाल हाइड्रोपावरको ३.९६ प्रतिशतले घटेको छ ।

मंगलबारको कारोबार समाप्तीसँगै कुल बजार पुँजीकरण बढेर ३२ खर्ब २८ अर्ब ३४ करोड ९३ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।