ग्रामीण विकास लघुवित्तका वरिष्ठ फिल्ड सहायक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा एक जनाविरुद्ध मुद्दा दायर गरेको छ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरुद्ध आयोगले मुद्दा हालेको हो ।

कर्मचारीले किर्ते (बनावटी) सदस्य बनाई विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा व्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको, पशु कर्जा/धितो कर्जा दिँदा कमिशन खाएको, धितो राखिएको जग्गा रोक्का नगर्ने धितो फुकुवा भएको पनि बाँकी देखिने जस्ता भ्रष्टाचारजन्य क्रियाकलाप गरेको आयोगमा उजुरी परेको थियो । सोही सम्बन्धमा आयोगले अनुसन्धान गर्दा वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी वरिष्ठ फिल्ड सहायक पदमा कार्यरत रहँदा सो कार्यमा संलग्नता रहेको आयोगको आरोप छ ।

उनले आर्थिक वर्ष २०६८/०६९ देखि आफू कार्यरत बैंकको १९ लाख २ हजार २३७ रुपैयाँ अपचलन तथा हिनामिना गरेको पुष्टि भएको आयोगले जनाएको छ । उनीविरुद्ध सोही रकम बराबरको बिगो कायम आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।