लेनदेन मुद्धाको फैसला कार्यान्वायन गराउन डाँक लिलामीबाट सेयर बिक्री गर्दै अदालत, कसरी हुने लिलामीमा सहभागी ?


अदालतबाट हुने फैसलाको कार्यान्वायन प्रभावकारी नभईरहेका बेला ललितपुर जिल्ला अदालतले एक जनाको सेयर लिलामी गरेर पिडितलाई भुक्तानी दिलाउने भएको छ ।

अढाई वर्ष पहिलेको फैसला कार्यान्वायनमा प्रतिवादीले असहयोग गरेपछि अदालतले ति व्यक्तिको नाममा रहेको सप्तकोशी डेभलपमेण्ट बैंकको ठुलो संख्याको सेयर डाँक लिलामीबाट बिक्री गराउन लागेको हो ।

अदालतका अनुसार २०७८ साल मंसिर १६ गते भएको फैसला अनुसार मेची नगर १ स्थायी घर भई ललितपुर १४ मा बस्दै आएका लक्ष्मण लिम्बु सुब्बाले वादीलाई भुक्तान गर्नुपर्ने २५ लाख र सोको व्याज हालसम्म भुक्तान गरेका छैनन् ।

त्यसैगरी उनले अदालतको शुल्क समेत वादीलाई वा अदालतमा नबुझाएका कारण उनको नाममा रहेको सप्तकोशी डेभलपमेण्ट बैंकको १ लाख ८० हजार ७५० कित्ता सेयर डाँक लिलामीबाट बिक्री गर्न लागिएको हो । सूचनामा बैंकको कुन प्रकृतिको सेयर हो भन्ने खुलाइएको छैन । अदालतका अनुसार सुब्बाको नाममा रहेको सप्तकोशी डेभलपमेण्ट बैंकको संस्थापक सेयर लिलामीमा राख्न लागिएको हो ।

अदालतका अनुसार बैशाख २० गते बिहीबार उक्त सेयरको डाँक लिलामी हुनेछ । जिल्ला अदालत ललितपुरको तहशील शाखामा बैशाख २० गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने डाँक लिलामीमा सर्वसाधारण वा संस्थागत लगानीकर्ताहरुले सहभागिता जनाउन सक्नेछन् ।

प्रतिकित्ता न्युनतम १४४ रुपैयाँको दरमा सुरु हुने डाँक लिलामीमा सहभागी भई बोलकबोल गरेर सेयर खरिद गर्न अदालतले इच्छुक लगानीकर्तालाई आग्रह समेत गरेको छ । डाँक लिलामीमा बोलकबोल गरेको रकमको १० प्रतिशत रकम सोही दिन भुक्तान गरी बाँकी ९० प्रतिशत रकम १ साता भित्र भुक्तान गर्नुपर्ने अदालतको सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।