मूल्यमा चाप पर्दा २०% ले घट्यो सुनको आयात, राजश्व संकलन भने बढ्यो

0
Shares

मूल्यमा चाप पर्दा सुनको आयात घट्दै गएको छ । मूल्यमा वृद्धि भएसँगै सुनको मागमा नै कमी आएको कारण सुनको आयात घटेको व्यवसायीहरु बताउँछन् । गत आर्थिक वर्षको नौ महिनाको तुुलनामा चालु आवमा सुनको आयात करिब २० प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको नौ महिना (साउन–चैत) सम्ममा १९ लाख १ हजार ८६४ ग्राम सुन आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.९० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा २३ लाख १६ हजार ५८६ ग्राम सुन आयात भएको थियो ।

सुनको अयात घट्नुको मुख्य कारण नै क्रमशक्तिमा कमजोर हुनु रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन् । “सुनको भाउ बढ्दै गएको छ। तर क्रयशक्ति बढेको छैन। सुन किन्ने मान्छे नै नभएपछि आयात हुने कुरो नै भएन त्यसैले आयात घटेको हो ।” पूर्व अध्यक्ष एवम् व्यवसायी शाक्यले भने ।

सुनचाँदी व्यवसायी शाक्यले मूल्यवृद्धि मुख्य करण रहेको बताउँदै देशको आर्थिक गतिविधि सक्रिय रूपमा चलायमान नहुनु, उपभोक्तासँग प्रयाप्त क्रयशक्ति नहुँदा बजारमा सुनको माग घट्दा आयातमा समेत कमी आएको जानकारी दिए ।

यस्तै, उनले बजारमा माग न्यून हुँदा सुन आयात मात्र नभई कारोबारमा समेत लगभग ७० प्रतिशतले कमी आएको उल्लेख गरे ।

चालु आर्थिक वर्षको नौ महिनामा १६ अर्ब १२ करोड २५ लाख ८२ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ । गत आर्थिक वर्षको सोही महिनाको अवधिमा १७ अर्ब २८ करोड ७ लाख ८२ हजार रुपैयाँ बराबरको सुन आयात भएको थियो।

उता, सुन आयातमा कमी आएतापनि सुन आयातबाट हुने राजश्व संकलनमा भने वृद्धि भएको छ । चालु आर्थिक वर्षमा २ अर्ब ४१ करोड ८४ लाख ९ हजार रुपैयाँ राजश्व संकलन हुँदा गत अर्थिक वर्ष भने १ अर्ब ९६ करोड ९१ लाख १ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

यता, चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा १ अर्ब ६३ करोड ५७ लाख ४१ हजार रुपैयाँ बराबरको १ लाख ९१ हजार ८९ ग्राम नखुलेको सुन आयात भएको छ ।

यस्तै सोही अवधिमा ४० करोड ९३ लाख २७ हजार रुपैयाँ बराबरको ४७ हजार २५२ ग्राम सुनका गहना आयात भएको छ ।

कोरोना लगत्तै विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले सुन आयातको दैनिक कोटा २० किलोबाट घटाएर १० किलोमा सीमित राखेको थियो । तर गत असोजबाट भने सुन आयात गर्ने दैनिक कोटालाई २० किलो नै पु¥याइएको छ । तैपनि, सुनको आयात बढ्न नसकेको सकेको छैन ।

यता, समिक्षा अवधिमा चाँदीको आयात पनि घटेको छ । गत आर्थिक वर्षको नौ महिनामा ८८ लाख ४३ हजार ७१२ ग्राम चाँदी आयात भएकोमा चालु आवमा १२ लाख २३ हजार ७३१ ग्राम चाँदी आयात भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।