९८ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच : प्रधानमन्त्री

0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९८ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको बताएका छन।

आइतबार काठमाडौँको चन्द्रागिरीमा मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सवस्टेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन।

उनले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको बताए । उनले उत्पादित जलविद्युत देशभित्र नै खपत गर्नेगरी विद्युत खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले वद्युत खपतको महत्त्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर बिस्तार भइरहेको र पेट्रोलियम पदार्थको आायतमा पनि गिरावट ल्याएको बताए।

प्रधानमन्त्रीले जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण नेपालका सुन्दर हिमालहरु प्रभावित भएको बताए । उनले नेपालको जलविद्युत उत्पादनमा पनि जलवायु परिवर्तनको प्रभाव परेको जानकारी दिए।

‘‘देशभित्र उत्पादित विद्युत यहीँ खपत गर्न नेपाल सरकारले विद्युत खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रीपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको छ । यसले विद्युत खपत बढाउनका लागि ठुलो दिशा निर्देश गर्नेछ । विद्युत खपतको महत्त्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर बिस्तार मात्रै भएको छैन, यसले पेट्रोलियम पदार्थको आायतमा पनि गिरावट ल्याएको छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘सरकारी र निजी क्षेत्रबाट देशभर चार्जिङ स्टेशनहरु स्थापित भइरहेका छन् । अहिले करिव ९८ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ । आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको छ । पूर्णरुपमा विद्युतीकरण गर्नसक्ने आधार तयार हुनु एउटा महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हो । नेपालको विकासमा यो एउटा ठुलो टर्निङ प्वाइन्ट पनि हो ।’’

प्रधानमन्त्री प्रचण्डले प्रसारण लाइन बिस्तारमा वन क्षेत्रको प्रयोग, रुख कटान तथा जग्गा अधिग्रहणमा ठूलो समस्या रहेको बताए । उनले विकास र पर्यावरणबिच सन्तुलन कायम हुनेगरी योजनाहरु अघि बढाउन आवश्यक रहेको बताए । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी एवम् नर्वे सरकार तथा एशियाली विकास बैंकको आर्थिक सहयोगमा मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ २२० केभी सवस्टेशन निर्माण गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।