तीन महीनापछि नेप्सेमा उच्च भोल्यूम सहित सूचकमा उत्साहजनक वृद्धि

0
Shares

सेयर बजारमा तीन महीनापछि उच्च कारोबार सहित नेप्सेमा उत्साहजनक वृद्धि देखा परेको छ । दैनिक कारोबार रकम घटेर बजार सुस्त बन्दै गर्दा बजारमा कारोबारी हराउन लागिसकेका थिए । तर मंगलबार १ करोड बढी कित्ताको कारोबार सहित पोने पाँच अर्बको धितोपत्र खरिद बिक्री भएको छ ।

यसअघि २०८० माघ ८ गते सोमबार ६ अर्ब २८ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त दिन बजार सूचक नेप्से ३१.४९ अंकले घटेको थियो ।

लामो समयपछि दैनिक कारोबार रकम करिब ५ अर्ब रुपैयाँ पुगेकाले बजार चलायमान हुने आंकलन गरिएको छ । यद्यपी आजकै कारोबारका आधारमा अबका दिनमा बजार कसरी अगाडि बढ्छ भनेर अनुमान गर्न गाह्रो हुन्छ । भोलिका दिनमा बजारमा उच्च कारोबार सहित अगाडि बढेमा बजारले बुलिस ट्रेण्ड समात्नेछ ।

सरकारले लगानी सम्मेलन लगत्तै सेयर लगानीकर्ताको समस्या समाधानका लागि पहल अगाडि बढाउने बताएसँगै लगानीकर्तामा आत्मविश्वास बढेको हो । सोही कारण आज बजारमा उत्साहजनक कारोबार देखिएको हो । सुरुवाती चरणमा बढेको वित्त समुहबाट अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दा उक्त सूचक १.१८ प्रतिशतले घटेको छ भने बाँकी बाह्र ओटै बढेका छन् । विकास बैंक सर्वाधिक ४.९० प्रतिशतले बढेको बजारमा होटल तथा पर्यटनमुलक २.५३, निर्जीवन बीमा २.३९, जलविद्युत १.६२, लघुवित्त १.४१, लगानी १.१३ र बैंकिङ्ग इन्डेक्स १.१० प्रतिशतले बढेको छ ।

आज नेप्से सूचक १.३० प्रतिशत अर्थात २५.९३ अंकले बढेर २००६.२८ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १.५८ प्रतिशत, फ्लोट इन्डेक्स १.४९ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.८९ प्रतिशतले बढेको छ । नेप्सेभन्दा बढी अन्य सूचक बढेकाले मंगलबारको बजारमा बजारमा माग पक्ष बलियो बनेको छ । अर्थ मन्त्रालयको वार्ता सकारात्मक दिशामा अगाडि बढेमा आगामी दिनमा बजारले थप लय समात्ने देखिन्छ ।

मंगलबार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सर्वाधिक १८ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ यस्तै पोखरा फाइनान्स १७ करोड १ लाख, गोर्खाज फाइनान्स १६ करोड २५ लाख, कामना सेवा विकास बैंक १२ करोड ९५ लाख र नेपाल फाइनान्सको १२ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भउको छ ।

आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर क्रमशः ४८६.२० रुपैयाँ र १०७९ रुपयाँ पुगेको छ । यस्तै ग्रीन डेभलपमेन्ट बैंक ८.२९, बोटलर्स नेपाल (तराई) लिमिटेडको ७.६२ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ७.२० प्रतिशतले बढेको छ । पिपुल्स पावर, आरएसडिसी लघुवित्त, कामना सेवा विकास बैंक, मेन्छियसम हाइड्रोपावर र मुक्तिनाथ विकास बैंकको सेयर मूल्य उच्च बढेको छ। दशौं ठूलो सेयर मूल्य बढेको मुक्तिनाथ विकास बैंकको ५.५७ प्रतिशतले बढेको छ ।

यसैगरी आजको बजारमा पोखरा फाइनान्सको सेयर मूल्य आज ७.१८ प्रतिशतले घटेको छ भने गुराँस लघुवित्तको ६.६० प्रतिशत, बोटलर्स नेपाल बालाजुको ५.७३ प्रतिशत, गोर्खाज फाइनान्सको ४.५८ प्रतिशत र प्रोगेशिभ फाइनान्सको ३.८० प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज कारोबार कित्ताका आधारमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र कारोबार संख्याका आधारमा गोर्खाज फाइनान्स अगाडि छ । उक्त शाइन रेसुङ्गाको ४ लाख ५९ हजार २१९ कित्ता सेयर खरिद बिक्री हुँदा गोर्खाज फाइनान्सको सर्वाधिक १८७४ ओटा संख्यामा धितोपत्र किनबेच भएको छ ।

मंगलबारको कारोबारपछि कुल बजार पुँजीकरण ३१ खर्ब ८१ अर्ब २० करोड १६ लाख रुपैयाँ बराबरमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।