क्रेष्ट माइक्रो लाइफको आईपीओ एनआईएमबि एस क्यापिटल मार्फत निष्कासन हुने

0
Shares

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) एनआईएमबि एस क्यापिटल मार्फत निष्कासन हुने भएको छ ।

प्रथम वार्षिक साधारण सभाबाट पारित भए बमोजिम आईपीओ निष्कासन गर्न यस लघुबीमा कम्पनीले सर्वसाधारणलाई छुट्टाईएको साधारण सेयर निष्काशनको प्रक्रियागत कार्य अगाडि बढाएको हो । जसका लागि कम्पनीले २०८१ वैशाख १८ गते एनआएमबि एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।

साधारण सेयर निष्कासन गर्ने उक्त सम्झौता पत्रमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा एनआएमबि एस क्याप्टिल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।

माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुमा आईपीओ निष्काशन गर्ने पहिलो कम्पनीको रुपमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशत सेयर बिक्री गर्ने सम्झौता गरेको हो । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ रकम बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण सेयरहरु प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरमा सर्वसाधारणहरुमा निष्काशन गर्नेछ ।

न्यून आय भएका एवं पीछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघुजीवन बीमा सेवा पुर्याउने लक्ष्य अनुसार क्रेस्ट माइक्रोले नेपाल बीमा प्राधिकरणबाट २०७९ चैत २८ गते लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरेको थियो ।  कम्पनीले २०८० जेठ ८ गते नेपाल बीमा प्राधिकरणबाट व्यवसाय सञ्चालन गर्ने स्वीकृती पत्र प्राप्त गरेको र कम्पनी रजिष्ट्रारको कार्यालयबाट मिति २०८० जेठ १० मा कारोबारको स्वीकृती प्राप्त गरी पब्लिक लिमिटेड कम्पनीको स्वरुपमा स्थापना भएको हो ।

कम्पनीमा संयुक्त लगानीकर्ताहरुमा नेपाली प्रतिष्ठित व्यवसायी समूहहरुको संस्थापक लगानी ७० प्रतिशत रहेको छ र यस सार्वजनिक निष्काशन पश्चात् सर्वसाधारण लगानीकर्ताहरुको लगानी ३० प्रतिशत रहनेछ ।

कम्पनी सञ्चालक समितिको अध्यक्षमा ऋषिराज मोर रहेको  क्रेष्ट माइक्रो लाइफको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रतापमान श्रेष्ठ छन् ।

 

नेपाल बीमा प्राधिकरणले & ओटा कम्पनीलाई लघुबीमा कम्पनीको लाइसेन्स वितरण गरेको थियो । प्राधिकरणले तीन लघुजीवन बीमा र चार निर्जीवन लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । लघु जीवनबीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइत्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघुबीमाको लाइसेन्स पाएका थिए ।

त्यस्तै, लघु निर्जीवन बीमा व्यवसायतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लघु बीमाको लाइसेन्स पाएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।