हिमालयन डिष्टिलरीको ब्रिक्री आय ३९ प्रतिशतले घटेर पौने ३ अर्बमा समित, खुद मूनाफा ६३% ले घट्यो


हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खराब वित्तीय अवस्था रहेको रिर्पोट सार्वजनिक गरेको छ । कम्पनीको बिक्री आम्दानी ३९.५५ प्रतिशतले घट्दा खुद मुनाफामा ६३.५१ प्रतिशतको उच्च गिरावट आएको छ ।

मदिरा उत्पादक यस कम्पनीको चैत मसान्तसम्ममा मदिराजन्य सामाग्रीको बिक्री आम्दानी घटेसँगै त्यसको सोझो असर खुद नाफामा परेको हो ।

चैतसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको कुल बिक्री आय गत आवको यसै अवधिमा ४ अर्ब ५३ करोड ९६ लाख ०४ हजार रहेकोमा ३९.५५ प्रतिशतले घटेर २ अर्ब ७४ करोड ४१ लाख १३ हजार रुपैयाँमा संकुचित बनेको छ । यद्यपी मुख्य स्रोत मदिराको खपत घटेपछि कम्पनीको मुनाफामा धक्का लागेको हो ।

यस्तै गत आवको चैतमा ५७ करोड ६६ लाख ५८ हजार रुपैयाँ खुद नाफा रहेकोमा ६३.५१ प्रतिशतले घटेर चालु आवको तेस्रो त्रैमाससम्म २१ करोड ०४ लाख १६ हजारमा संकुचित बनेको हो । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नाफामा आएको उच्च गिरावटका कारण कम्पनीको प्रति सेयर आम्दानी समीक्षा अवधिमा २१ रूपैयाँ १५ पैसाले घटेर १०.५० पैसामा झरेको छ ।

त्यसैगरी, चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १४१.७४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ७७ पैसा रहेको छ।
२ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५२ करोड ८२ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीले गोल्डेन ओक, ब्ल्याक ओक लगायत मदिरा उत्पादन गर्दै आएको छ । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी व्यवस्थाका कारण बैंकले प्रवाह गर्ने ऋणमा कडाइ, चालु पुँजीको अभाव र ब्याजदरमा अत्यधिक वृद्धिले आगामी दिन अझै चुनौतीपूर्ण देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।