नेपाल रिपब्लिक मिडियाको खस्कियो आम्दानी, ५२ लाख घाटामा–आईपीओ निष्कासनमा ३८ लाख खर्च

0
Shares

नेपाल रिपब्लिक मिडियाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी निरन्तर खस्किँदै गएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म १५ करोड ९१ लाख ९६ हजार आम्दानी गरेको कम्पनीले चालु आवको सोही अवधिमा १३ करोड ५७ लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको हो ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफामा गिरावट आएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ५२ लाख २६ हजार रुपैयाँ ऋणात्मक छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा ३ करोड ९३ लाख ८० हजार रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासबाटै घाटाका कारण संकटमा परेको नेपाल रिपब्लिक मिडिया प्रालि निरन्तर खुद घाटामा रहेको हो । कम्पनीले असोजसम्म १ करोड २२ लाख ७० हजार र पुस मसान्तसम्म ४२ लाख ६४ हजार घाटामा रहेको थियो । दोस्रो त्रैमासको तुलनामा रिपब्लिक मिडियाको खुद घाटा तेस्रो त्रैमासमा करिब १० लाख रुपैयाँले बढेको हो ।

आईपीओ जारी गरेको बेला नाफा देखाएको कम्पनीको वित्तीय अवस्था त्यसपछि भने निरन्तर खराब देखिएको हो । अपरिष्कृत वित्तीय विवरण अनुसार तेस्रो त्रैमाससम्ममा रिपब्लिक मिडियाले ४ करोड ४० लाख रुपैयाँ बिक्री खर्च देखाएको छ। यस अवधिसम्म रिपब्लिक मिडियाको खुद आम्दानी ९ करोड १६ लाख ८४ हजार कायम भएको छ। गत आवको तेस्रो त्रैमासमा ११ करोड ६ लाख थियो ।

चालु आर्थिक वर्षको चैतसम्म प्रशासनिक खर्चबापत ४ करोड लाख २४ लाख रुपैयाँ, बिक्री तथा वितरण खर्च १० लाख, अन्य १ करोड ९ लाख रुपैयाँ र आईपीओ निष्कासन वापत ३८ लाख ७ हजार रुपैयाँ खर्च भएको जनाएको छ । यस अवधिसम्ममा कम्पनीले बैंकको ब्याजबापत २ करोड ६७ लाख ४४ हजार रुपैयाँ खर्च गरेको वित्तीय विवरणमा उल्लेख छ ।

तेस्रो त्रैमाससम्म कम्पनीको सञ्चालन मुनाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९ करोड ७९ लाख ८० हजारबाट घटेर ३ करोड ४५ लाख २२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा सञ्चालन मुनाफा करिब ६४.७६ प्रतिशतले घटेको हो ।

खुद घाटामा गएपछि कम्पनीले कर बचत गरेर घाटा कम गराउन मद्दत गरेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रिपब्लिक मिडियाले १८ लाख ५२ हजार रुपैयाँ, दोस्रो त्रैमासमा ३५ लाख ३५ हजार रुपैयाँ र तेस्रो त्रैमासमा ४५ लाख २५ हजार रुपैयाँ कर बचत गरेको छ।
चुक्ता पुँजी ९६ करोड ७५ लाख रहेको कम्पनीको तेस्रो त्रैमासमा वार्षिक प्रति सेयर आम्दानी ५४ पैसा ऋणात्मक भने नेटवर्थ घटेर ८७ रुपैयाँ ८१ पैसामा कायम भएको छ। कम्पनीको ऋण पुँजी अनुपात ०.३५ छ । तेस्रो त्रैमासमा कम्पनीको अन्तिम मूल्य ३७६ रुपैयाँ छ । कम्पनीको जगेडा कोष नोक्सानी ४७ करोड २४ लाखबाट बढेर ५१ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको दीर्घकालीन सापटी २२ करोड ८ लाख रुपैयाँ र अल्पकालीन सापटी ७ करोड ३८ लाख रुपैयाँ छ । कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधा वापत २ करोड ९ लाख तथा ब्यापार तथा अन्य भुक्तानी वापत ८ करोड ४५ लाख रुपैयाँ दायित्व कम्पनीसँग छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।