सगरमाथा आरोहण गर्न ४१४ जनाले लिए अनुमति, साढे ६७ करोड रोयल्टी जम्मा

सगरमाथा आरोहण गर्न ४१४ जनाले लिए अनुमति, साढे ६७ करोड रोयल्टी जम्मा

सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४ ले अनुमति लिएका हुन् ।

अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङका अनुसार यो याममा सगरमाथासहित ३० हिमाल आरोहणका लागि एक सय १२ आरोही समूहका नौ सय ७१ आरोहीले अनुमति लिएका छन् । हिमाल आरोहणको अनुमतिवापत हालसम्म ६७ करोड ४७ लाख १४ हजार ६१ रोयल्टी जम्मा भएको छ ।

सगरमाथाबाट मात्रै ५९ करोड २३ लाख पाँच हजार आठ सय ४९ रकम उठेको छ । बसन्त यामको सगरमाथा आरोहणका लागि चौथो शिविर (साउथ कोल, ७९५० मि.)सम्म बाटो खुलिसकेको छ । आरोहणका लागि डोरी टाँग्ने (रोपफिक्सिङ) काम चौथो शिविरसम्म सम्पन्न भएको हो । यसअघि सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलबार १८ : ५४ बजे