आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा १८१% बढ्यो

0
Shares

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको खुद नाफा १८१.०४ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।  गत आवको यसै अवधिमा इन्स्योरेन्सले १६ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँ रहेको इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ६५ करोड ४१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ७ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २७ करोड ९७ लाख रुपैयाँ र अन्य इक्विटीमा ४६ करोड ९९ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा विशेष जगेडा कोष २१.९६ प्रतिशत, महाविपत्ति २३.७२ प्रतिशत, अन्य इक्वीटी ६.६५ प्रतिशत र रिटेन्ड अर्निङ्ग १०३ गुणा बढेको हो ।

प्रकाशित वित्तीय विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क ८८.२६ प्रतिशत वृद्धि गर्दै ८६ करोड ७३ लाख ७९ हजार रुपैयाँ संकलन गरेको छ । यस्तै कुल आम्दानी ११९.१९ प्रतिशत बढेर १ अर्ब ७० करोड २८ लाख कायम भएको छ। खर्चपनि बढेको छ । लगानी, कर्जा तथा अन्यबाट हुने आय २६३ प्रतिशतले बढेर चैतसम्म ४९ करोड ६४ लाख ३५ हजार कमाएको छ ।  कुल खर्च ९१.९२ प्रतिशत बढेर १ अर्ब ३ करोड ४७ लाख ५६ हजार रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा इन्स्योरेन्सको खुद दाबी भुक्तानी ९४.८३ प्रतिशत बढेर ५१ करोड १९ लाख १५ हजार गरेको छ ।
खुद नाफा बढेपछि प्रति सेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ८ रुपैयाँ २८ पैसा बढेर २० रुपैयाँ ५८ पैसा पुगेको छ । इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ १८१ रुपैयाँ ९२ पैसा र मूल्य आम्दानी अनुपात २६.१० गुणा छ ।

कम्पनीले १ लाख ८३ हजार ९८९ ओटा बीमालेख जारी गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।