मेची भन्सारबाट १० महिनामा उठ्यो ११ अर्ब ५९ करोड राजस्व

0
Shares

मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा ११ अर्ब ५९ करोड ३७ लाख ३४ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

गत आर्थिक वर्षको तुलनामा यसवर्ष एक करोड ८७ लाख १३ हजार रूपैयाँ कम राजस्व संकलन भएको हो।

मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको बैशाखसम्म गत आवको तुलनामा चियामा १६ दशमलव १२ र अलैँचीमा चार दशमलव ६५ प्रतिशत निर्यात घटेको छ।

उनले भने, ‘पछिल्लो समय भेनियस सिटसहित फलामको पाता, प्लाइउड, छुर्पी, अम्रिसो, अदुवालगायतका निर्यात बढेको छ।’

भन्सार कार्यालय काँकडभिट्टाका अनुसार पेट्रोल, फलामका सामग्री र फलफूलको जुसलगायतको आयातमा सामान्य वृद्धि भए पनि डिजेल, तरकारी, जुट, जिप्सम, कपडा एलपीजीलयायतका सामग्रीको आयात गत आवको पहिलो दश महिनाको तुलनामा घटेको हो।

भन्सार कार्यालय काँकडभिट्टामा चालु आवको बैशाखसम्ममा गत आवको तुलनामा आयात आठ दशमलव २४ प्रतिशतले घटेको हो। निर्यात ११ दशमलव ३८ प्रतिशतले बढेको सूचना अधिकारी कँडेलले जानकारी दिए।

उनका अनुसार पछिल्लो दश महिनामा ३६ अर्ब ५३ करोड ७० लाख ३८ हजार रूपैयाँ बराबरका वस्तु आयात भएको छ भने २० अर्ब २६ हरोड ७८ लाख १८ हजार मूल्य बराबरका सामग्री निर्यात भएको छ। रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ जेठ २०८१, आइतबार  १५ : २७ बजे