“नेपाल लघु बीमक संघ” नामको गैर सरकारी संस्था स्थापना भएको छ । नेपालमा हाल सञ्चालनमा रहेका लघु बीमकहरुलाई आबद्ध गरी २०८१ जेठ ३ गते जिल्ला प्रशासन कार्यालय ललितपुरमा उक्त संघ दर्ता भएको हो ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारी अध्यक्ष रहेको कार्य समितिमा स्टार माइक्रो इन्स्योरेन्सका सीईओ विश्वराम तिमिला उपाध्यक्ष छन् । यस्तै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओ नरेश कुमार रोका सचिव, र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ रामकुमार यादव कोषाध्यक्ष छन् । संघका सदस्यहरुमा ट्रष्ट माइक्रोे इन्स्योरेन्स कम्पनीका सीईओ उज्जल ढुङ्गाना, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका सीईओ मृगेन्द्र नाथ रिमाल र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ प्रताप मान श्रेष्ठ रहेका छन् ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट चार ओटा निर्जीवन लघुबीमा र तीन ओटा लघु जीवन बीमा कम्पनी गरी कुल ७ ओटाले इजाजत पाएका छन् ।
नेपाल लघु बीमक संघले देशको लघु बीमा क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी संघ संस्थाहरुसँग समन्वय गरी लघु बीमा सेवालाइ स्तरीय तथा भरपर्दो बनाउँदै न्यून आय वर्ग तथा दूर दराजका नागरिक हरुमा बीमाको पहुँच विस्तारको लागि काम गर्ने अध्यक्ष भण्डारीले बताए । लघु बीमा सेवाको विकास तथा विस्तार गर्ने र पर्यावरण संरक्षण सम्बन्धि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने उदेश्य राखि संघ स्थाना गरिएको उनले जानकारी दिए ।
संघले नेपाल बीमा प्राधिकरण लगायत सम्बन्धित संघ सस्थाहरुसँग सहकार्य र समन्वय गरी समावेशी बीमाको अवधारणालाइ मुर्त रुप दिनका लागि बीमा रक्षावरणको पहुँच बाहिर रहेका वर्ग समुदायलाइ बीमाको दायरामा समेटी उनीहरुको आर्थिक भविष्यलाइ सुनिश्चित गर्ने कार्यमा जोड दिने उपाध्यक्ष विश्वराम तिमिलाले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
