चैतको तुलनामा नयाँ वर्ष २०८१ को सुरुवाती महीना बैशाखमा नै घरजग्गाको कारोबारमा सुस्तता छाएको छ । अर्थतन्त्र चलायमान हुन नसक्दा घर जग्गा कारोबार सुस्ताएका कारण राजश्व संकलनमा समेत धक्का लागेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार चैतको तुलनामा वैशाखमा घरजग्गाको कारोबारमा ४७० ओटाले कमी आएको हो ।
बैशाखमा देशभरका मालपोत कार्यालयबाट ४९ हजार ७८२ वटा घरजग्गा किनबेच भएका छन् । जबकी चैतमा ५० हजार २५२ वटा घरजग्गा किनबेच भएका थिए । कारोबारमा गिरावट आएसँगै चैतको तुलनामा बैशाखमा घरजग्गा कारोबारबाट उठ्ने राजस्व संकलनमा पनि गिरावट आएको छ । चैतको तुलनामा बैशाखमा राजस्व संकलनमा ८ करोड ४३ लाख २० हजार ५५० रुपैयाँले कमी आएको छ ।
बैशाख महीनामा ३ अर्ब ८६ करोड ३८ लाख १६ हजार ६६ रुपैयाँ राजश्व संकलन गरेको छ । जबकी चैतमा ३ अर्ब ९४ करोड ८१ लाख ३६ हजार ८१६ रुपैयाँ राजश्व संकलन भएको थियो । सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर,मुख्यमन्त्री स्वछता अभियान कोष शुल्क, बिलम्ब शुल्क लगायत विभिन्न शीर्षकमा राजश्व प्राप्त हुन्छ । त्यसमध्ये सबैभन्दा बढी रजिष्ट्रेसन दस्तुर, सेवा कर र पुँजीगत लाभकरबाट प्राप्त हुने गरेको छ ।
बैशाख महीनामा २ अर्ब ५६ करोड ९० लाख ९ हजार रुपैयाँ रजिस्ट्रेसन दस्तुर प्राप्त भएको छ भने १ अर्ब ३९ करोड ९० लाख ८४ हजार रुपैयाँ पुँजीगत लाभकर प्राप्त भएको छ । यस्तै सेवा कर वापत बैशाख महिनामा २४ करोड १४ लाख ४३ हजार रुपैयाँ संकलन भएको छ ।
उपत्यकामा कहाँबाट उठ्यो कति राजश्व ?
काठमाण्डौं उपत्यकाबाट राजश्व संकलन बढी हुने गरेको छ । उपत्यकामा घरजग्गा कारोबार कम भएपनि जग्गाको मूल्य उच्च हुँदा राजस्व संकलनमा ठूलो योगदान देखिएको हो ।
बैशाखमा ललितपुरको लगनखेल मालपोत कार्यालयबाट सबैभन्दा धेरै राजस्व संकलन भएको छ । उक्त मालपोत कार्यालयबाट ४३ करोड ७२ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यसैगरी मालपोत कार्यालय सिर्दिवासबाट बैशाख महीनामा सबैभन्दा कम १८ हजार ६०० रुपैयाँ मात्र संकलन भएको छ ।
बैशाखमा डिल्लीबजारबाट ३० करोड १९ लाख ८० हजार रुपैयाँ, कलंकीबाट २० करोड ३९ लाख ५८ हजार रुपैयाँ, भक्तपुर मालपोत कार्यालयबाट २८ करोड २० लाख ८५ हजार रुपैयाँ, मालपोत कार्यालय चावहिलबाट २२ करोड २६ लाख ९५ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी मालपोत कार्यालय कलङ्कीबाट २० करोड ३९ लाख ५८ हजार रुपैयाँ संकलन भएको छ ।
बैशाख महीनामा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट १४ करोड ६८ लाख, मालपोत कार्यालय कास्कीबाट १३ करोड ८५ लाख, मालपोत कार्यालय चितवनबाट १३ करोड १४ लाख, मालपोत कार्यालय साँखु, काठमाण्डौंबाट ९ करोड ५२ लाख र भूमिसुधार तथा मालपोत कार्यालय धनगढी कैलालीबाट ९ करोड ३२ लाख रुपैयाँ, मनमैजुबाट ८ करोड ११ लाख २० हजार रुपैयाँर टोखा कार्यालयबाट ४ करोड ६३ लाख ६४ हजार रुपैयाँ राजश्व संकलन भएको तथ्याङ्क छ । मुख्य शहरमा धेरै राजश्व संकलन भएपनि उपत्यकाकै बाहिरी क्षेत्रमा रहेका मालपोत कार्यालयहरुबाट भने कम राजश्व संकलन कम देखिएको छ ।
बैशाखको कारोबार १९.२७ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्षको वैशाख महिनामा घरजग्गाको कारोबार १९.२७ प्रतिशतले बढेको छ । गत आवको सोहि अवधिको तुलनामा घरजग्गाको कारोबार २२ हजार ९११ ओटाले बढेर १ लाख ४१ हजार ७८२ वटा पुगेको भुमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।
विभागका अनुसार बैशाखमा ४९ हजार ७८२ वटा लिखत पारित, ४ हजार ५९ वटा नामसारी, ३२ हजार ४३९ वटा रोक्का र २७ हजार ८४२ वटा रोक्का रहेका घरजग्गा फुकुवा भएको हो । यस्तै यस महीनामा २८ ओटा अपार्टमेन्टको लिखत पारित भएको छ । कारोबार बढेसँगै वैशाख महिनामा घरजग्गा कारोबारबाट संकलन हुने राजस्व २४.४४ प्रतिशतले बढेर ३ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ संकलन भएको हो । गत वर्षको वैशाख महिनामा घरजग्गा सम्बन्धी १ लाख १८ हजार ८७१ वटा कारोबार हुँदा ३ अर्ब १० करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
