नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावर र समता घरेलु लघुवित्तको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेका अनुसार युनाइटेड इदी मर्दीको चुक्ता पुँजीको ५.५० प्रतिशतले हुन आउने २ लाख ३१ हजार कित्ता र समत घरेलु लघुवित्तको चुक्ता पुँजीको ५.४२ प्रतिशतले हुन आउने २ लाख १३ हजार ७२० दशमलव ७१ कित्ता गरी कुल ४ लाख ४४ हजार ७२० दशमलव ७१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सोमबार सूचीकृत भएका दुबै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले दोस्रो बजार मार्फत खरिदबिक्री गर्न सक्नेछन् ।
युनाइटेड इदी मर्दीको फागुन १७ गते सम्पन्न भएको १४ औं वार्षिक साधारण सभाले ४२ करोड रुपैयाँको ५.५० प्रतिशत बोनस र करप्रयोजनका लागि ०.२८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो । बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी ४४ करोड ३१ लाख रुपैयाँ पुगेको छ । साधारण सभा र लाभांश प्रयोजनका लागि गरिएको बुकक्लोज अनुसार २०८० फागुन ३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
समत घरेलु लघुवित्तको चैत २९ गते सम्पन्न भएको दशौं वार्षिक साधारण सभाले ३९ करोड ४१ लाख ५५ हजार ८२१ रुपैयाँको ५.४२ प्रतिशत बोनस र करप्रयोजनका लागि ०.२८५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो । बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी ४१ करोड ५५ लाख २७ हजार ७३८ रुपैयाँ पुगेको छ । साधारण सभा र लाभांश प्रयोजनका लागि गरिएको बुकक्लोज अनुसार २०८० चैत १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
