एनसीआईसीकेको वरिष्ठ उपाध्यक्षमा शिवाकोटी, व्यावसायिक हितलाई सर्वोपरी राख्ने प्रतिबद्धता

0
Shares

नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके)को वरिष्ठ उपाध्यक्षमा जय शिवाकोटी चयन भएका छन् ।

गत असोज ५ गते सम्पन्न साधारण सभाबाट निर्विरोध निर्वाचित कार्यसमितिको बैठकले तीन जना उपाध्यक्षबाट शिवाकोटीलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो । साधारण सभाले उपाध्यक्षमा शिवाकोटीसहित राजेन्द्र शेरचन र रमानाथ श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको थियो ।

संघको विधान अनुसार एक जना वरिष्ठ उपाध्यक्ष र दुई जना उपाध्यक्ष रहने व्यवस्था छ ।

शिवाकोटी लामो समयदेखि व्यावसायिक राजनीतिमा रहँदै आएका छन् । यसअघि एनसीआईसीकेको कार्यसमिति उपाध्यक्ष रहेका शिवाकोटीसँग नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० को कार्यकारी सदस्य तथा भन्सार एजेन्ट महासंघका संस्थापक अध्यक्ष रहेर काम गरेको अनुभव छ ।

प्रखर व्यक्तित्व र व्यवसायीहरूको समस्यामा जुझारु ढङ्गबाट लागि पर्ने उनी व्यवसायीवर्गले रुचाएका व्यावसायिक नेता हुन् । वरिष्ठ उपाध्यक्ष निर्वाचित भएपछि कर्पोरेट खबरलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै शिवाकोटीले व्यावसायिक हितलाई सर्वोपरी राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । व्यवसायमा देखिएका विभिन्न समस्याहरूको निराकरणका लागि सरकारसँग प्रभावकारी ढङ्गबाट लविङ गर्ने उनको भनाइ छ ।

व्यावसायिक संघसंगठन र नेतृत्वहरूले बारम्बार सरकारसँग लविङ गर्दै आएको भए पनि त्यसको उचित सुनुवाई सरकारले नगरिरहेको परिस्थितिलाई चिरेर अघि बढ्न आफूले आफ्नो नेतृत्वलाई सघाउ पुर्याउने उनले बताए । आर्थिक अवस्था समस्यामा परिरहेको बेला सरकारले ल्याउन लागेको बजेटमार्फत व्यवसायीका धेरै विषयहरू सम्बोधन गरिनुपर्ने धारणा उनको छ । व्यवसायीको समस्या समाधान भए मुलुकको आर्थिक अवस्था क्रमशः सुधारको बाटोतर्फ जाने उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।