सेयर बजार मापक परिसूचक नेप्से मंगलबार ६.२२ अंक बढेर २०८५.३० विन्दुमा पुगेको छ । बजारमा आएको सुधारसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ ।
आज ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८७७ रुपैयाँ बराबरको कारोबार भएको छ । ३१५ कम्पनीको ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ५३ हजार ९९९ पटक खरिद बिक्री भएको हो । अघिल्लो दिन सोमबार नेप्से ३.९७ अंकले घटेर ४ अर्ब ४ करोडको सेयर कारोबार थियो ।
मंगलबार सेन्सेटिभ इण्डेक्स १.९५ अंक बढ्दा फ्लोट इण्डेक्स ०.३३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४२ अंक बढेको छ । मंगलबार कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये दश ओटा बढेको छ भने तीन ओटा घटेको छ । व्यापार सर्वाधिक २.७० प्रतिशत र लघुवित्त १.४८ प्रतिशतले बढेको छ । जलविद्युत सर्वाधिक ०.६१ प्रतिशतले घटेको बजारमा अन्य ०.२३ र म्युचुअल फन्ड उपसमूहको परिसूचक ०.११ प्रतिशत घटेको छ ।
ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् । लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता १३१ रुपैयाँ ५० पैसा वृद्धि भई १४४६.५० रुपैयाँ पुगेको छ । यस्तै नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.२४ प्रतिशत, महुली लघुवित्तको ७.८९ प्रतिशत, हिमालयन लघुवित्तको ७.८२ प्रतिशत र माथिल्लो मैलुङ्गखोजा जलविद्युतको ७.०१ प्रतिशतले मूल्य बढेको छ ।
उता मंगलबार बुद्धभुमि नेपाल हाइड्रोपावरको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयरमूल्य यसदिन ५.५१ प्रतिशत घटेर ६३५ रुपैयाँमा झरेको छ । यस्तै इष्टर्न हाइड्रोपावरको ४.६८ प्रतिशत, गणपति लघुवित्तको ४.५३ प्रतिशत, सिद्धार्थ ग्रोथ स्कीमा—३ को ३.९४ प्रतिशत र अपिर लोहरेखोला हाइड्रोपावरको सेयर मूल्य ३.८६ प्रतिशतले घटेको छ ।
सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको सो कम्पनीको २० करोड ९२ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल फाइनान्सको १२ करोड ९८ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ११ करोड ८२ लाख, युनाइटेड अजोड इन्स्योरेन्सको ११ करोड ७९ लाख र ग्लोबल आइएमई लघुवित्तको १० करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
मंगलबार कुल बजार पुँजीकरण ३३ खर्ब ६ अर्ब ६६ करोड ४१ लाख रुपैयाँमा समेटिएको छ ।
