घटेको मूल्यमा सेयर उठाउने बढे, दैनिक कारोबार पाँच अर्ब नाघ्यो


सेयर बजार पछिल्लो तीन दिनदेखि घटेको छ । सामान्य अंकले ऋणात्मक रहेको बजारमा कारोबारीहरु भने बार्गेनिङ्गलाई माध्यम बनाउँदै सस्तो मूल्यमा सेयर थुपार्ने क्रम बढेको हो । यसले दैनिक कारोबार रकमलाई समेत वृद्धि गर्दै आइतबार पाँच अर्ब नाघेको छ ।

धेरै पुँजीकरण भएका कम्पनी हल्लाउन नसकेका अल्पकालीन लगानीकर्ताहरुले अहिले कम पुँजी भएका कम्पनीहरुको सेयरमा खेलिरहेका छन् । सर्किट लागेका कतिपय कम्पनीको तेस्रो त्रैमासिक रिपोर्ट अनुसार उच्च नोक्सानी छ । यद्यपी बजार सुस्त रहेको मौका छापेर कारोबारीहरुले तीनै कम्पनीको सेयरमूल्य उच्च रुपमा बढाएका हुन् ।

आइतबार बजार सूचक ४.५९ अंकले घटेको छ भने बिहीबार र बुधबार क्रमशः १.९३ र ५.५८ अंकले बजार ओरालो लागेको थियो । बुधबार भने ६.२२ अंकले बजार बढेर बन्द भएको थियो । आइतबार दैनिक कारोबार रकम ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँ पुगेको छ । यसदिन ३१३ कम्पनीका १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर ६९ हजार २१९ पटक खरिद बिक्री भएका छन् । एकातिर कारोबार कित्ता एक करोड बढी पुग्नु अर्कोतर्फ दैनिक कारोबार रकम ८० करोडले बढ्नुले पनि सस्तो मूलयमा सेयर उठाउको देखिन्छ । गत बिहीबार ४ अर्ब ३८ करोड र बुधबार ३ अर्ब ९९ करोडको धितोपत्र किनबेच भएको थियो ।

साताको पहिलो कारोबार दिन आइतबार ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.५८, कारोबारयोग्य सेयरको मापक फ्लोट इण्डेक्स ०.३४ र सर्वसाधारणमा रहेको कारोबारयोग्य सेयरको सूचक मापक सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६९ प्रतिशतले घटेका छन् । यसदिन होटल तथा पर्यटनमुलक सहित पाँच उपसमुहगत सूचक बढ्दा ८ ओटा घटेको छ । होटल तथा पर्यटनमुलक सर्वाधिक २.९२ प्रतिशतले बढेको बजारमा हाइड्रोपावर, लगानी, उत्पादन तथा प्रशोधनमुलक र अन्य सामान्य बढेको छ । उता घटेका आठमध्ये ब्यापारमा सर्वाधिक १.५४ प्रतिशतको गिरावट आउँदा लघुव्त्ति १.०९ प्रतिशत, बैंकिङ्ग ०.९६, फाइनान्स ०.९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा छ । कम्पनीको ३२ करोड ३ लाख ९४ हजार रुपैयाँ ५ लाख २ हजार ४२१ कित्ता सेयर १९२४ पटक किनबेच भएको छ । यस्तै सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २१ करोड १३ लाख, सिटि होटलको १३ करोड ९८ लाख रुपैयाँ, पोखरा फाइनान्सको १२ करोड ३८ लाख, हाथवे इन्भेष्टमेन्टको ११ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।

पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

आइतबार कारोबारमा आएका ३१३ मध्ये पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन इष्टर्न हाइड्रोपावर, शुभम् पावर, सिटि होटल, कुथरी बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य दश प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यससँगै इष्टर्न हाइड्रोपावर को प्रतिकित्ता मूल्य ५५० रुपैयाँ, शुभम् पावरको ७९२, सिटि होटलको ७१२.८०, कुथरी बुखरी स्मल हाइड्रोपावरको १२४७.४० रुपैयाँ र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्रतिकित्ता मूल्य ५९० रुपैयाँ पुगेको छ ।

त्यस्तै सामलिङ्ग पावरको ९.२८ प्रतिशत, सयपत्री हाइड्रोपावर ८.९५, जानकी फाइनान्सको ८ं२६ प्रतिशत, युनाइटेड इदीमर्दी एण्ड हाइड्रोपावरको ७.९३ प्रतिशत, र माउन्टेन हाइड्रोपावरको ७.४२ प्रतिशतले मूल्य बढेको छ ।

उता आइतबारको बजारबाट बुद्धभुमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर १० प्रतिशतले घटेर ६४३.५० रुपैयाँमा झरेको छ। यस्तै पोखरा फाइनान्स ७.१२ प्रतिशत, लक्ष्मी लघुवित्तको ६.६१ प्रतिशत, माईखोला हाइड्रोपावरको ५.३४ र मिड सोलु हाइड्रोपावरको ४.५२ प्रतिशतले सेयर मुलय घटेको छ ।

आजको कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ८७ अर्ब ४६ करोड १७ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन बिहीबार ३२ खर्ब ९४ अर्ब ७४ करोड १७ लाख रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ जेठ २०८१, आइतबार १६ : ०२ बजे