दैनिक कारोबार रकम पाँच अर्ब नाघ्न थाल्यो, निर्जीवन बीमाको सेयर पनि उचालियो

0
Shares

सेयर बजारमा दैनिक कारोबार रकम बढ्दै जान थालेको छ । यो साताको पछिल्ला दुई दिनमा नै दैनिक कारोबार रकम पाँच अर्बभन्दा बढी पुगेको हो । अघिल्ला दिनमा कम पुँजी भएका कम्पनीको सेयरमा आकर्षण रहेकोमा सोमबार निर्जीवन बीमा कम्पनीको सेयरमा समेत लगानीकर्ताले लगानी बढाएका छन् ।

सोमबार ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७८२ रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन ३१४ कम्पनीका १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर ७१ हजार ९४८ पटक खरिद बिक्री भएको छ । अघिल्लो कारोबार दिन आइतबार पाँच अर्ब १८ करोडको धितोपत्र किनबेच भएको थियो ।

नेप्से ८.९० अंकले बढेर २०८१ दशमलव ०९ बिन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ०.२३ प्रतिशत, फ्लोट इन्डेक्स ०.४५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३० प्रतिशतले बढेको छ । आज कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये ७ ओटा उकालो लागेका छन् भने ६ ओटा ओरालो लागेका छन्। हाइड्रोपावर सर्वाधिक २ प्रतिशतले बढेको बजारमा निर्जीवनबीम १.२८ प्रतिशत र फाइनान्स १ं२१ प्रतिशतले बढेको हो । विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधनमुलक र लघुवित्त पनि सामान्य बढेका छन् । उता म्युचुअल फन्डमा सर्वाधिक ३.७४ प्रतिशतको गिरावट ब्यहोरेको आजको बजारमा ब्यापार पनि २.०४ प्रतिशतले घटेको छ । बैंकिङ्ग,होटल तथा पर्यटनमुलक, जीवन बीमा र अन्य पनि सामान्य घटेका छन् ।

आज कारोबार रकमका आधारमा आज पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा छ । कम्पनीको ४१ करोड ८७ लाख ६३ हजार रुपैयाँ ६ लाख २७ हजार ६७६ कित्ता सेयर १६३८ पटक किनबेच भएको छ । यस्तै माउन्टेन इनर्जी नेपालको २४ करोड ४७ लाख ८८ हजार, जानकी फाइनान्सको १६ करोड ७७ लाख, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १३ करोड ५१ लाख र युनाइटेड इदीमर्दी एण्ड हाइड्रोपावरको १२ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ ।

तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

सोमबार कारोबारमा आएका ३१४ मध्ये तीन ओटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन कुथरी बुखरी स्मल हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडको सेयर मूल्य दश प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यससँगै कुथरी बुखरी स्मल हाइड्रोपावरको प्रतिकित्ता मूल्य १३७२.१० रुपैयाँ, त्रिशुली जलविद्युतको ४९८.३० रुपैयाँ, पिपुल्स पावर लिमिटेडको ४७७.९० रुपैयाँ पुगेको छ ।

यसैगरी मोलुङ्ग हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.४९ प्रतिशत, सुपर माई हाइड्रोपावर ८.९९ प्रतिशत, सामलिङ्ग पावरको ७.९७ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फन्डको इकाई ७.४६ प्रतिशत, गोर्खाज फाइनान्सको ७.१२ प्रतिशत, सुपर मादी हाइड्रोपावर ७.०७ प्रतिशत र तेह्रथुम पावरको ६.८८ प्रतिशतले बढेको छ ।

उता आजको बजारबाट जानकी फाइनान्सको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको सेयर ८.६७ प्रतिशतले घटेर ५६३.५० रुपैयाँमा झरेको छ । बाराही हाइड्रोपावर ५.२९ प्रतिशत, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४.८३ प्रतिशत, बुद्धभुमि नेपाल हाइड्रोपावर ३.०१ प्रतिशत र बिन्दबासिनी हाइड्रोपावरको २.७० प्रतिशतले घटेको हो ।

आजको कारोबारपछि कुल बजार पुँजीकरण १४ अर्ब ११ करोड ८३ लाख रुपैयाँले बढेर ३३ खर्ब १ अर्ब ५८ करोड रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन बिहीबार ३२ खर्ब ८७ अर्ब ४६ करोड १७ लाख रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।