नेप्सेको गिरावटले आइतबार पनि पायो निरन्तरता, १७ अंकले घट्यो सूचक 

0
Shares

बिहीबारदेखि घट्न थालेको सेयर बजार सूचक मापक नेप्सेको गिरावटले आइतबार पनि निरन्तरता पाएको छ । बिहीबार ९.३२ अंकले घटेको बजार सूचक आइतबार थप गहिरिँदै १७.०४ अंकमा पुगेको हो । बुधबारभन्दा अघिल्ला तीन दिनमा ४८.४२ अंक बजार बढेको थियो ।

असार महिनाको पहिलो कारोबार दिन आइतबार नेप्से १७.०४ अंकले घटेर २०९५.२५ बिन्दुमा अडिएको छ । बजार करेक्शन गहिरिएसँगै होटल तथा पर्यटनमुलक बाहेक सबै १२ ओटै उपसमुहगत सूचक ऋणात्मक बनेका छन् । लघुवित्त सर्वाधिक १.७१ प्रतिशतले घटेको बजारमा विकास बैंक १.२० र अन्यको इन्डेक्स पनि १२ प्रतिशतले घटेको छ । होटल तथा पर्यटनमुलक ०.०४ प्रतिशतले मात्र सकारात्मक बनेको छ ।

आइतबार ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ रुपैयाँको कारोबार भएको छ । यदिन ३१७ कम्पनीका १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ७१ हजार ९९७ पटक खरिद बिक्री भएको हो । बिहीबार ३१३ कम्पनीका १ करोड ४२ लाख ९४ हजार कित्ता सेयर ७७ हजार ४०० पटकमा ६ अर्ब ४४ करोड ३० लाखमा किनबेच भएको थियो । अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा ९७ करोड ८ लाख रुपैयाँले कम हो ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा उक्लिएको छ । फाइनान्सको ३० करोड ४० लाख ५३ हजार रुपैयाँ बराबरको ४ लाख ७९ हजार ९८७ कित्ता सेयर किनबेच भएको छ । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १८ करोड १९ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १५ करोड २५ लाख, सईडिबी हाइड्रोपावरको १३ करोड २७ लाख र समृद्धि फाइनान्सको १३ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार कारोबारमा आएका ३१७ मध्ये नेपाल फाइनान्सको सेयर मूल्य दश प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यसदिन फाइनान्सको मूल्य ६०.१० रुपैयाँ बढेर ६६१.१० रुपैयाँ पुगेको हो । यस्तै मनकामना स्मार्ट लघुवित्तको ९.०९ प्रतिशत, शिवश्री हाइड्रोपावरको ८.१७ प्रतिशत, कुथली बुखरी हाइड्रोपावरको ७.३५ प्रतिशत र दिब्यश्वरी हाइड्रोपावरको ६.७१ प्रतिशतले बढेको छ ।

भगवती हाइड्रोपावरको आज सबैभन्दा धेरै १० प्रतिशतले मूल्य घटेको छ । ११३.१० रुपैयाँ प्रतिकित्ता घटेपछि कम्पनीको सेयर १०१७.९० रुपैयाँमा झरेको छ । यस्तै समृद्धि फाइनान्सको ६.११ प्रतिशत, ग्लोबल आईएमई लघुवित्तको ५.४९, मुक्तिनाथ कृषि कम्पनीको ५.१६ र प्रभु स्मार्ट फन्डको इकाई ५.११ प्रतिशतले मूल्य घटेको छ ।

आजको कारोबारपछि कुल बजार पुँजीकरण २७ अर्ब २ करोड ३ लाख रुपैयाँले संकुचित भई ३३ खर्ब २२ अर्ब ४५ करोड ५१ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन बिहीबार १४ अर्ब ७९ करोड १४ लाख रुपैयाँले घटेर ३३ खर्ब ४९ अर्ब ४७ करोड ५४ लाख रुपैयाँमा समेटिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।