घट्दो बजारमा फाइनान्सका सेयर मूल्य उचालियो, नेप्से २०६२ बिन्दुमा झर्यो

0
Shares

साताको पहिलो दिन आइतबार पनि सेयर बजारको गिरावटले निरन्तरता पाएको छ । बजार ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा बन्द भएको हो । घट्दो बजारमा न्यून पुँजी भएका फाइनान्स कम्पनीको सेयर मूल्य उकालो लागेको छ ।

नेप्से परिसूचक घटेपनि घाटामा रहेका फाइनान्स कम्पनीहरुको सेयर मूल्य समेत कारोबारीहरुले उच्च वृद्धि गरेका छन् । यसले नव लगानीकर्तालाई जोखिम समेत बढाएको छ । कतिपय कम्पनीको बैशाख मसान्तसम्ममा खुद नाफा ऋणात्मक भएपछि कम पुँजी भएका धेरै फाइनान्सको सेयर मूल्यमा निरन्तर सर्किट लागाएर वृद्धि गरिएको छ ।

आइतबार सेयर कारोबारमा आएका ३१७ मध्ये १०१ कम्पनीको मूल्य वृद्धि भएको छ भने १९७ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको मूल्य स्थीर रहेको छ । दिनभरिमा ३१७ कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन बिहीबार ३ अर्ब ८७ करोड ७ लाखको कारोबार भएकोमा आज कारोबार रकम ५० करोड ३८ लाख रुपैयाँले बढेको हो ।

पोखरा फाइनान्सको आज सबैभन्दा धेरै १७ करोड १३ लाख ५२ हजार रुपैयाँको २ लाख ६५ हजार ३४७ कित्ता सेयर खरिद बिक्री भएको छ । यस्तै नेपाल फाइनान्सको १३ करोड ५८ लाख रुपैयाँ र सबैभन्दा धेरै ३ लाख ९ हजार ४४३ कित्ता सेयर कारोबार भएको रिलायन्स फाइनान्सको १३ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेप्से परिसूचक घटेर बन्द भएपनि यस दिन फाइनान्स उपसमूहको परिसूचक भने उच्च दरमा बढेको छ । १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। जसमध्ये फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ५.४९ प्रतिशत बढेको छ। यस उपसमूहको परिसूचक पछिल्ला ३ कारोबार दिनदेखि निरन्तर बढ्दो क्रममा रहेको छ । त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक ०.२५ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक ०.६६ प्रतिशत बढेको छ। कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२३ प्रतिशत घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

आइतबार पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन रिलायन्स फाइनान्स कम्पनी, गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त, मैलुङखोला जलविद्युत कम्पनी र नेपाल फाइनान्सको सेयर मूल्य दश प्रतिशतले बढेको छ ।

यससँगै रिलायन्स फाइनान्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य ४४५.५० रुपैयाँ, गणपति लघुवित्तको १४४६.५० रुपैयाँ, साधना लघुवित्तको १३६०.७० रुपैयाँ, मैलुङखोला जलविद्युत कम्पनीको ५९४ रुपैयाँ र नेपाल फाइनान्सको सेयर मूल्य ८३६.४० रुपैयाँ पुगेको छ ।

यस्तै बुद्धभुमि नेपाल हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, पोखरा फाइनान्स, श्रीइनभेष्टमेन्ट एण्ड फाइनान्स र समृद्धि फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले ८.१७ देखि ६.७९ प्रतिशतसम्म कमाएका हुन् ।

आज सबैभनदा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य आज ६.५८ प्रतिशतका दरले घटेर १४२० रुपैयाँमाझरेको छ । यसैगरी सनराइज ब्लुचिप फन्ड ५.२४ प्रतिशत, कालिका लघुवित्त ५.१८, उपकार लघुवित्तको ५.११ र बाराही हाइड्रोपावरका लगानीकर्ताले ५.४२ प्रतिशतका दरले गुमाएका छन् ।

आइतबारको घटाइपछि कुल बजार पुँजीकरण ३२ खर्ब ७१ अर्ब २२ करोड १४ लाख ४ हजार रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।