धितोपत्र बोर्डको अध्यक्ष चयन प्रकृया रद्द

0
Shares

राजनीतिक दाउपेचका कारण धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया नै रद्द भएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि गठित सिफारिस समितिले प्रकृया नै रद्द भएको जनाएको हो ।

‘समितिको २०८१ असार १४ को निर्णय अनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षको निमित्त नाम सिफारिस गर्नको लागि मिति २०८० फागुन १६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु रद्द गरिएको व्यहोरा सम्बद्ध सबैमा जानकारीको लागि सूचना प्रकाशन गरिएको छ ।’ समितिले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

फागुन दोस्रो साता सिफारिस समितिले अध्यक्ष पदका लागि आवेदन माग गरेको थियो । जसमा १९ जनाले आवेदन दिएका थिए । समितिले दरखास्त आह्वान गरेर सर्टलिस्टमा परेका पाँच जना उम्मेदवारलाई असार २ गते आइतबार कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर पाँचमध्ये तीन जना अन्तरवार्तामा नै उपस्थित नभएपछि दुईजनाको मात्रै नाम सिफारिस गर्न नमिल्ने राय महान्यायधिवक्तको कार्यलयले दिएपछि सोही अनुसार कानूनी रुपमा सिफारिस प्रक्रिया नै रद्द भएको हो । हालको आवेदन प्रक्रिया रद्द भएसँगै अब फेरि बोर्ड अध्यक्ष चयनका लागि प्रकृया सुरु गर्नुपर्ने अवस्था आएको हो ।

सिफारिस समितिले बोर्ड अध्यक्षका लागि कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था छ । धितोपत्रसम्बन्धी ऐनको दफा ७ को उपदफा ४ मा भनिएको छ, ‘समितिले नाम सिफारिस गर्दा यस ऐनबमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्नेछ ।’

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि उम्मेदवारमध्ये असार २ गते आइतबारको अन्तर्वार्तामा दुईजना मात्रै उपस्थित भएका थिए । सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै कार्यायोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि उपस्थित भए । सर्टलिस्टमा परेकामध्ये माओवादी निकट मानिएका बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कृष्ण बहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईंले अन्तरवार्ता बहिस्कार गरेका थिए । तीनजना अनुपस्थित रहनुमा राजनीतिक दाउपेचलाई नै प्रमुख कारण मानिएको छ । सत्ता साझेदार दल एकीकृत माओवादी र नेकपा एमालेबीचमा अध्यक्ष चयनमा कुरा नमिलेपछि सम्पूर्ण प्रकृया नै रद्द हुने अवस्था सिर्जना भएको हो ।

पुस २० गतेदेखि तत्कालीन अध्यक्ष रमेशकुमार हमाल कार्यकाल सकेर बाहिरिएपछि बोर्ड नेतृत्वविहीन छ । अध्यक्ष नियुक्तिका लागि माघको पहिलो साता सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको नेतृत्वमा सिफारिस समिति गठन भएको थियो । समितिको सदस्यमा अर्थसचिव र शंकरदेव क्याम्पसका उपप्राध्यापक उदय निरौलालाई बनाइएको थियाे । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।