नेप्से २९ अंकले बढ्यो, सात अर्बमाथि कारोबार

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको वृद्धिले निरन्तरता पाएको छ । मंगलबारदेखि बढ्दै गएको बजारले क्रमशः हरेक दिन थप वृद्धि चुम्दै गएको छ भने कारोबार रकम पनि क्रमिक रुपमा बढ्दै गएको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको लचिलो मौद्रिक नीति ल्याउने अभिव्यक्ति, घट्दो ब्याजदर, सकिन लागेको आर्थिक वर्ष, कांग्रेस एमालेको नयाँ सत्ता समीकरण र असार मसान्तमा चुक्ता गर्नुपर्ने ऋणको साँवा तथा ब्याजको बोझ कम भएसँगै लगानीकर्ताले धितोपत्र बजारमा बढाउँदै लगेका हुन् । सोहि कारण पनि पुँजी बजारका लगानीकर्ता उत्साहित बन्दै गएका छन् ।

बिहीबार दैनिक कारोबार रकम अघिल्लो दिनको तुलनामा ३३ करोड ६६ लाख रुपैयाँले बढेर ७ अर्ब ८ करोड ६ लाख ९८ हजार रुपैयाँ नाघेको छ । यसदिन ३२२ कम्पनीका २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर ८७ हजार ८६ ओटा संख्यामा कारोबार भएको हो । अघिल्लो दिन बुधबार ६ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रुपैयाँको धितोपत्र किनबेच भएको थियो ।

नेप्सेसँगै बिहीबार बजार सूचक मापक नेप्से २२ सय बिन्दुमाथि उक्लिएको छ । यसदिन नेप्से नेप्से १.३४ प्रतिशत अर्थात २९.२१ अंकले बढेर २२०४.६१ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १.५३ अंक, फ्लोट इण्डेक्स १.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६२ अंक बढेको छ ।

आज कारोबारमा आएका १३ उपसमूहगत परिसूचकमध्ये ब्यापार र लघुवित्त बाहेक सबै ११ ओटै बढेका छन् । यसदिन बैंकिङ्ग उपसमुहगत परिसूचक सर्वाधिक २.४२ अंकले बढेको छ भने म्युचुअल फन्ड १.९० प्रतिशत, अन्य १.५३ प्रतिशत, हाइड्रोपावर १.४३ प्रतिशत र निर्जीवन बीमा १.०१ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आज सिईडिबी हाइड्रोपावरको सबैभन्दा धेरै १५ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै ग्लोबल आइएमई बैंकको संस्थापक सेयर १४ करोड ८९ लाख, हिमालयन रि इन्स्योरेन्सको १२ करोड ७९ लाख, सानिमा जीआईसी इन्स्योरेन्सको १२ कोड ६८ लाख रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ११ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, समाज लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाए

बिहीबार दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन बलेफी हाइड्रोपावर कम्पनी र सिटिजन सुपर–३० म्युचुअल फन्डको इकाई मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसदिन बलेफी हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेर ४२१.५० रुपैयाँ पुगेको छ । यस्तै सिटिजन सुपर–३० म्युचुअल फन्डको इकाई ९.९७ प्रतिशतले बढेर ९.७१ रुपैयाँ पुगेको छ । यसैगरी एनआईबिएल स्टेबल फन्ड ९.८३ प्रतिशत, जानकी फाइनान्स ८.७६ प्रतिशत, सिटिजन म्युचुअल फन्डको ७.८२ प्रतिशतले इकाई मूल्य बढेको छ ।

यसदिन समाज लघुवित्तको सेयर मूल्य ४.५९ प्रतिशतले घटेर २९३२ रुपैयाँमा झरेको छ । यस्तै साधना लघुवित्तको ४.५६ प्रतिशत, एनएमबि–५० म्युचुअल फन्डको ४.१३ प्रतिशत, सेञ्चुरी डिबेञ्चर २०८८ को ३.९१ प्रतिशत र गुडबिल फाइनान्सको ३.८२ प्रतिशतले मुल्य घटेको छ ।

बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ३४ खर्ब ९६ अर्ब ९० करोड २३ लाख ५५ हजार रुपैयाँमा समेटिएको छ । बुधबार कुल बजार पुँजीकरण ३४ खर्ब ५० अर्ब ५७ करोड १ लाख रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।