अर्थमा बिष्णु पौडेल आउने भएपछि सेयर बजारमा उत्साह, ५३ अंकले उक्लियो सूचक

0
Shares

राष्ट्रपतिबाट आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुने सुनिश्चित बनेपछि सेयर बजारमा उछाल आएको छ । नयाँ सरकारमा अर्थमन्त्रीको रुपमा बिष्णु प्रसाद पौडेल आउने पक्का भएसँगै सेयर बजारमा उत्साह छाएको हो । पौडल अर्थमन्त्री हुँदा यसअघि सेयर बजारले उच्चतम अंकसम्म पुगेको ‘ट्रयाक रेकर्ड’ ले अबका दिनमा पनि सेयर बजारले गति लिने विश्वास लगानीकर्तामा छ । सोही कारण आइतबार दैनिक कारोबार रकम साढे ७ अर्बभन्दा माथि पुगेको छ ।

यसदिन सेयर बजार परिसूचक नेप्से ५२.९७ अंकले बढेको छ । यससँगै बजार सूचक २२५७.५९ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ९.५९ अंक, फ्लोट इण्डेक्स ३.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४८ अंक बढेको छ ।नेप्सेसँग आइतबार कारोबार रकम पनि ५३ करोड ९७ लाख रुपैयाँले बढेर ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५२० रुपैयाँ पुगेको छ । यसदिन ३०९ स्टकको २ करोड २० लाख ४७ हजार ३२७ कित्ता सेयर ९६ हजार २७४ ओटा संख्यामा कारोबार भएको हो । अघिल्लो कारोबार दिन बिहीबार ७ अर्ब ८ करोड ७ लाखको सेयर खरिद बिक्री भएको थियो ।

आज कारोबारमा आएका १३ ओटै उपसमूहगत परिसूचक बढेका छन् । जसमध्ये यस दिन बैंकिङ्ग सर्वाधिक ३.७४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर ३.३० प्रतिशत, उत्पादन तथा प्रशोधनमुलक २.६६ प्रतिशत, व्यापार २.२१ प्रतिशत, जीवन बीमा २.०५ प्रतिशतले बढेको छ । विकास बैंक, फाइनान्स, होटल तथा पर्यटनमुलक, लगानी, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्यको इन्डेक्स १ प्रतिशतभन्दा बढी २ प्रतिशतभन्दा कम बढेको छ । लघुवित्त ०.८२ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा जानकी फाइनान्सको २४ करोड २७ लाख ५८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २१ करोड २७ लाख, ग्लोबल आईएमई बैंकको संस्थापक सेयर २० करोड ७५ लाख, नेपाल फाइनान्सको १९ करोड १७ लाख, हिमालयन रि इन्स्योरेन्सको १५ करोड १४ लाख रुपैयाँ बढीको सेयर खरिद बिक्री भएको छ ।

आइतबारको बजारबाट रिडी पावर र माण्डू हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै दश प्रतिशतका दरले नाफा कमाएका छन् । यससँगै रिडी पावरको प्रतिकित्ता सेयर मूल्य १८३.७० रुपैयाँ र माण्डू हाइड्रोपावरको १३५७.४० रुपैयाँ पुगेको छ । यसदिन हिमाल दोलखा हाइड्रोपावरको ८.९३ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरको ९.३७ प्रतिशत र जानकी फाइनान्सको ९.१६ प्रतिशतले सेयरको भाउ बढेको छ ।

उता आजको बजारबाट १०.१५% प्राइम बैंक डिबेञ्चर २०८४ को ४.१२ प्रतिशतले घटेर १०४५ रुपैयाँमा झरेको छ । यसैगरी बलेफी हाइड्रोपावरको ३.६८ प्रतिशत, एनआईसी एशिया सेलेक्ट फन्ड–३० को ३.०५ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको २.६८ प्रतिशत र सिटिजन सुपर–३० म्युचुअल फन्डको इकाई मूल्य २.२७ प्रतिशतले घटेको छ ।

कारोबार कित्ताका आधारमा ग्लोबल आईएमई बैंकको संस्थापक सर्वाधिक २० लाख ७५ हजार १०२ कित्ता सेयर कारोबार भएको छ भने कारोबार संख्याका आधारमा हिमालयन रिइन्स्योरेन्सको २ हजार २९५ पटक किनबेच भयो ।

आइतबारको कारोबारपछि कुल बजार पुँजीकरण ३५ खर्ब ८० अर्ब ९३ करोड ६४ लाख २९ हजार ८०९ रुपैयाँ कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।