ओली सरकारलाई सेयर बजारको अभूतपूर्व साथ, चार दिनमा २४५ अंक बढ्यो नेप्से

0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सेयर बजारले अभूतपूर्व साथ दिएको छ । गत असार १७ गते नेकपा एमाले–नेपाली कांग्रेस गठबन्धनको सरकार निर्माणपछि मात्रै ४४८.८५ अंक बढेको सेयर बजारमा पछिल्लो चार दिनमा मात्रै २४५.५१ अंकको वृद्धि भएको हो । पछिल्ला चार दिनको नेप्से वृद्धि औसतमा ६१.३८ अंकको वृद्धि देखिएको हो ।

प्रधानमन्त्री ओलीले आइतबार संसदमा विश्वासको मत लिँदै गर्दा नेप्से २.५४ प्रतिशत अर्थात ६१.६१ अंकले बढेर २४८५.९४ बिन्दुमा पुगेको छ । ओली सरकार गठनपछि असार २४ गते ४.६२ अंक र असार ३१ गते सोमबार १७.१८ अंकले मात्र बजार घटेको छ भने १३ दिन बजार सूचक नेप्से बढेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १३.५३ अंक, फ्लोट इन्डेक्स ४.३३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.३३ अंकले वृद्धि भएको छ । आइतबार ३१५ कम्पनीको १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० रुपैयाँ बराबरको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयर १ लाख ७७ हजार ४६७ पटक कारोबार भएको हो । गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँको सेयर खरिद बिक्री हुँदा३ करोड ९९ लाख बढी कित्ता सेयर कारोबार भएको थियो ।

आजको बजारमा १३ ओटै उपसमूहगत परिसूचक बढेको छ । व्यापार सर्वाधिक ६.८० प्रतिशत बढेको छ भने होटल तथा पर्यटनमुलक ४.२१ प्रतिशत, बैंकिङ्ग ३.८६ प्रतिशत र अन्य ३.३८ प्रतिशतले बढेको छ। यसदिन लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

चार कम्पनीको सेयरमा सकारात्मक सर्किट

आइतबार चार ओटा कम्पनीको सेयर मूल्यमा सकारात्मक लागेको छ । यसदिन युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त, हिमालयन बैंक र गणपति लघुवित्तको सेयर मूल्य दश प्रतिशतले बढेको हो । यससँगै युनाइटेड मोदी हाइड्रोपावरको सेयर प्रतिकित्ता २९७ रुपैयाँ, समता घरेलु लघुवित्तको १११६.५० रुपैयाँ, हिमालयन बैंकको २४८.९० रुपैयाँ र गणपति लघुवित्तको सेयर मूल्य २२८२ रुपैयाँ पुगेको छ । यस्तै मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ९.८६ प्रतिशत, एनएमबि–५० को ९.५५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.४९ प्रतिशत, कुमारी बैंकको ९.२१ प्रतिशत, सुपर मादी हाइड्रोपावरको ९.०८ प्रतिशत र नेपाल फाइनान्सको ८.७३ प्रतिशतले मूल्य बढेको छ ।

आजको बजारमा सिक्लेस हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । दश प्रतिशतले मूल्य घटेसँगै कम्पनीको प्रतिकित्ता सेयर मूल्य ८७४.८० रुपैयाँमा झरेको छ । यस्तै १०.२५% नेपाल एसबिआई डिबेञ्चर २०८३ को मूल्य ६.८४ प्रतिशत, ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१ को ५.९२ प्रतिशत, माथिल्लो मैलुङ्ग खोला जलविद्युतको ५.५४ प्रतिशत र प्रभु स्मार्ट फन्डको ४.६७ प्रतिशतले घटेको छ ।

सोल्टी होटलको सर्वाधिक कारोबार

सोल्टी होटल कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा छ । सोल्टी होटलको सेयर मुलय प्रतिकित्ता ५१२ पुग्दा कारोबार रकम ३४ करोड १० लाख ९६ हजार रुपैयाँ पुगेको हो । यस्तै हिमालयन रि इन्स्योरेन्सको ३० करोड ६७ लाख, कुमारी बैंकको २७ करोड ९३ लाख, सिईडिबी हाइड्रोपावरको २६ करोड ८५ लाख रुपैयाँ र शिवम् सिमेन्टको २४ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबारको बजार वृद्धिपछि कुल बजार पुँजीकरण ३९ खर्ब ४४ अर्ब ४६ करोड २२ लाख ८४ हजार ७८४ रुपैयाँ कायम भएको छ । यस्तै फ्लोट बजार पुँजीकरण १३ खर्ब ५७ अर्ब ५७ करोड १० लाख ८५ हजार रुपैयाँ समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।