मेचीनगरमा आन्तरिक राजस्व संकलन १३ करोडभन्दा बढी

0
Shares

मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजस्व १३ करोड ५२ लाख पाँच हजार आठ सय ९७ रूपैयाँ संकलन गरेको छ।

आव २०७९/८० तुलनामा एक करोड ९० लाख ८४ हजार दुईसय रूपैयाँ बढी राजस्व संकलन भएको हो।

नगरकी राजस्व परामर्श समितिका संयोजक एवं नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले आव २०७९/८० मा आन्तरिक राजस्व ११ करोड ६१ लाख २१ हजार छ सय ९७ रूपैयाँ संकलन भएको जानकारी दिइन्। एक वर्षमा दुई करोड रूपैयाँको हाराहारीमा आन्तरिक आयस्रोत वृद्धि हुनु आर्थिक दृष्टिले उत्साहजनक रहेको उनले बताइन्।

नगरपालिकाको राजस्व उपशाखाले विभिन्न ५० शीर्षकमा करबापत राजस्व संकलन गर्दै आएको छ। सम्पत्ति करतर्फ तीन करोड ४० लाख १९ हजार छ सय ४५ रूपैयाँ र अन्य सेवा शुल्कबापत दुई करोड ३१ लाख ९७ हजार तीन सय ८१ रूपैयाँ संकलन भएको छ। व्यवसाय कर, नक्सा पास दस्तुर, सिफारिस दस्तुरलगायत शीर्षकमा कर संकलन गरिने उनले जानकारी दिइन्।

मेचीनगरमा रहेका १५ वडामध्ये वडा नं ६ ले उक्त अवधिमा सबैभन्दा बढी एक करोड ७६ लाख २७ हजार सातसय एक रूपैयाँ राजस्व संकलन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए। दोस्रोमा वडा नं १० रहेको बताउँदै यसले एक करोड ६३ लाख ९९ हजार पाँच सय ४५ रूपैयाँ राजस्व संकलन गरेको उनले बताए।

वडागत रुपमा सबैभन्दा बढी सम्पत्ति कर वडा नं १० ले ५९ लाख ७९ हजार ४३ रूपैयाँ संकलन गरेको छ।

नगरपालिकाले चालु आवमा १६ करोड ७७ लाख आन्तरिक आय संकलन गर्ने लक्ष्य लिएको राजस्व उपशाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले बताए। चालु आवमा नगरको कुल बजेट दुई अर्ब पाँच करोड २९ लाख दुई हजार रूपैयाँ रहेको छ। रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।