काठमाण्डौं-हेटौँडा जोड्ने कान्तिलोकपथमा हलुका सवारीसाधन सञ्चालन


काठमाण्डौंबाट हेटौँडातर्फ जोड्ने कान्तिलोकपथअन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडा, बागमती गाउँपालिका वडा नं २ पाङ्दुरे र छबेनीमा सोमबार पहिरोका कारण अवरूद्ध सडक सञ्चालनमा आएको छ ।

पहिरो हटाएपछि आज दिउँसोबाट हेटौँडा काठमाण्डौंतर्फको यातायात सञ्चालनमा ल्याइएको ललितपुरको भट्टेडाँडा इलाका प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी उक्त लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ८ महादेवटारस्थित सडकमा गएको पहिरो पन्छाएर सोमबार नै एकतर्फी हलुका सवारीसाधन सञ्चालनमा ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ओम पण्डितले महादेवटार क्षेत्रको सडकका तीन स्थानमा ठूलो पहिरो गएकाले हेबी सवारीसाधन सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने बताए ।

उक्त सडकको दुवैतर्फको टेवा पर्खाल, ढल निर्माण र सडक फराकिलो गर्नुपर्ने बाध्यता भएकाले अझै एक हप्ताभन्दा बढी समय लाग्ने अनुमान गरिएकाले हेबी सवारीसाधनलाई त्रिभुवन राजपथलगायत वैकल्पिक राजमार्ग प्रयोग गर्न सुझाव दिइएको उनले जानकारी दिए ।

यसैगरी हेटौँडाबाट काठमाण्डौंतर्फ त्रिभुवन राजपथ, हेटौँडा भीमफेदी(कुलेखानी(सिस्नेरी, फाखेल र मातातीर्थको सडकमा दैनिक यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।