प्राकृतिक विपद् व्यवस्थापनका लागि विश्व बैंक र नेपाल सरकारबीच सम्झौता, २० अर्ब सहयोग


प्राकृतिक तथा जलवायुजन्य विपद्को व्यवस्थापन एवं आपत्कालीन स्वास्थ्य सेवाको सबलीकरणका लागि विश्व बैंकले नेपाललाई १५० मिलियन अमेरिकी डलर अर्थात् २० अर्ब नेपाली रुपैयाँ बराबरको वित्तीय सहायता प्रदान गर्ने भएको छ ।

नेपाल विपद् उत्थानशील विकास नीति ऋण (क्याट डिडिओ) कार्यक्रम अन्तर्गत भएको यो सम्झौताले विपद् उत्थानशीलता वृद्धि गर्नुका साथै प्रभावकारी विपद् प्रतिकार्यका लागि संस्थागत संयन्त्रहरूलाई सुदृढ गर्ने लक्ष्य राखेको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसियाका उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा अर्थ सचिव राम प्रसाद घिमिरे र विश्व बैंकका माल्दिभ्स, नेपाल तथा श्रीलंकाका क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले वित्तीय सहायता सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताको महत्व बारे बताउँदै अर्थ सचिव घिमिरे भन्छन्, ‘क्याट डिडिओ नेपालका लागि अत्यन्त महत्वपूर्ण छ किनभने यसले जलवायु तथा अन्य प्राकृतिक विपद् र स्वास्थ्य सम्बन्धी संकटको सामना गर्न सहयोग पुर्‍याउनेछ । विशेषगरी वित्तीय अभावको समयमा तत्काल र लचिलो तरलता प्रदान गरी देशको विपद् तयारी, रोकथाम र प्रतिकार्यलाई सुदृढ बनाउनेछ ।’

यस सम्झौताले राष्ट्रिय विपद् व्यवस्थापन कोष र प्रधानमन्त्री विपद् राहत कोष जस्ता सरकारका विद्यमान प्रतिकार्य संयन्त्रहरूलाई थप सबल बनाउने छ ।

विश्व बैंकका क्षेत्रीय निर्देशक सिस्लेनका अनुसार, क्याट डिडिओ विपद् जोखिम वित्तीय साधन हो, जसले सरकारलाई विकास कार्यक्रमहरूबाट स्रोत नघटाई आपतकालीन आवश्यकताहरूको द्रुत प्रतिकार्य गर्न सक्षम बनाउनेछ ।

प्रकाशित मिति: १३ कात्तिक २०८१, मंगलबार  १२ : २४ बजे