पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइयो


काठमाडौँ ।  मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीलाई काठमाडौँ ल्याइएको छ । मोरङको विराटनगरबाट पक्राउ परेका उनलाई प्रहरीले हवाईजहाजबाट काठमाडौँ ल्याएको हो ।

काठमाडौँ ल्याएर उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयमा बुझाइएको छ । अधिकारी उपर लागेको आरोपका सम्बन्धमा  अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धान गर्ने बताइएको छ ।

जापानको टोकियोमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै अधिकारी गत कात्तिक दाेस्राे साता टोकियो पुगेका थिए । उनीसँगै गएका दावा शेर्पा र जनक राईको कागजात नक्कली भएको पाएपछि टोकियो अध्यागमन कार्यालयले तीनै जनालाई नेपाल डिपोर्ट गरेको थियो ।

नेपाल डिपोर्ट भएका राई र शेर्पालाई त्रिभुवन विमानस्थलबाटै उपत्यका अपराध अनुसन्धान कार्यालयमा बुझाइएको थियो । तर अधिकारीलाई भने प्रहरीले आज उनको निजी निवास विराटनगरकाट पक्राउ गरेकाे हाे ।

मानव तस्करीको आरोप लागेपछि मन्त्री अधिकारीले आफ्नाे पदबाट राजीनामा दिएका थिए । साथै उनले एमाले संसदीय दलको नेताकाे पदबाट पनि राजीनामा दिँदै गर्दा नेकपा एमालेले उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेको थियाे ।

प्रकाशित मिति: २५ कात्तिक २०८१, आइतबार  १७ : २१ बजे