बिजुली काटिएका उद्योगमा लाइन जोड्ने मन्त्रिपरिषद्को निर्णय अझै पुगेन प्राधिकरणमा


काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको लाइन तत्काल जोड्ने निर्णय मन्त्रिपरिषद् भित्रै रुमलिएको छ ।

मन्त्रिपरिषदले आइतबार साँझ नै लाइन जोड्ने निर्णय गरेतापनि विद्युत प्राधिकरणमा कुनै पत्र आइनपुगेकोले यसबारे छलफल नभएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।

अहिलेसम्म प्राधिकरणलाई कुनै औपचारिक जानकारी नआएको भन्दै उनले भने, “अहिलेसम्म कुनै निर्देशन वा पत्र आएको छैन, निर्देशन आएपछि मात्रै बोर्डको बैठक बसेर के गर्ने भन्ने सन्दर्भमा निर्णय हुन्छ ।”

मन्त्रिपरिषद्को बैठकले उद्योगमा विद्युत आपुर्ती बन्द हुदाँ उत्पादन घट्न गएको, राजश्व सङ्कलनमा असर पुगेको, रोजगारीमा प्रभाव परेको र यसबाट अर्थतन्त्रमा प्रत्यक्ष असर पारेको हुनाले विद्युत् लाइन काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने व्यवस्था ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मिलाउने निर्णय गरेका थियो ।

त्यसैगरी सरकारले डेडिकेटेड र ट्रङ्क लाइन विवादमा १५ दिनभित्र उद्योगहरुले खपत गरेको विद्युत्को बक्यौता रकम बिल अनुसार असुल गर्ने निर्णयसमेत गरेको थियो ।

प्रकाशित मिति: २६ कात्तिक २०८१, सोमबार  १२ : ३० बजे