दरबारमार्गमा २५ तले अन्नपूर्ण स्क्वायरको निर्माण सुरु, २०८५ वैशाखदेखि सञ्चालनमा आउने 

 दरबारमार्गमा २५ तले अन्नपूर्ण स्क्वायरको निर्माण सुरु, २०८५ वैशाखदेखि सञ्चालनमा आउने 

काठमाण्डौको दरबारमार्गमा २५ तला सहितको अन्नपूर्ण स्क्वायर निर्माण प्रारम्भ भएको छ । होटल अन्नपूर्ण रहेको स्थानमा भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा निर्माण थालेको हो ।

सोमबार एक विशेष समारोहका बीच भूमि पुजा सम्पन्न गर्दै कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा निर्माण थालिएको बताए । उनी भाटभटेनी सुपरमार्केटका अध्यक्ष पनि हुन् । भारतको आर्किटेक्चर कम्पनीले यसको डिजाइन गरेको गुरुङले बताए । दुई चरणमा काम सम्पन्न गर्ने योजना बनाएको जानकारी समेत उनले दिए । २०८५ वैशाख १ गतेदेखि होटल सञ्चालनमा ल्याउने लक्ष्य राखेको उनको भनाइ छ । 

अन्नपूर्ण स्क्वायर २५ तलाको हुनेछ । जहाँ होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा रहनेछ भने ४० कोठा अपार्टमेन्ट हुनेछ । भाटभटेनीको एउटा स्टोर पनि त्यहाँ रहनेछ । कम्तिमा पनि ६ अर्ब रुपैयाँको लगानीमा निर्माण थालिएको होटलसँगै क्यासिनो पनि सञ्चालनमा आउनेछ । अहिले पुरानो संरचना भत्काउने काम भैरहेको छ । काठमाण्डौ महानगरपालिकाको अनुमतिपछि निर्माणको काम सुरु हुने उनले बताए ।

साढे तीन सय कोठा रहने उक्त होटल नेपालकै गौरव गर्न सक्ने संरचनाको रूपमा निर्माण गर्न लागिएको उनको भनाइ छ । होटलका कोठाको मूल्य भने ‘रिजनेवल’ हुने उनको दावी छ । होटल र आर्केड निर्माण हुनेछ । साढे तीन सय कोठासहितको होटल निर्माण हुन्छ । बैंक्वेट हल २५ सय, २ हजार  र १५ सय क्षमताका तीनवटा हुनेछ । आर्केड डेढ वर्षमा र होटल साढे दुई वर्षमा निर्माण सकिने पनि उनले बताए । होटलको व्यवस्थापन आईटीसीको वेलकम ब्रान्डलाई दिएको समेत जानकारी उनले दिए । 
गुरुङलाई बढी कर तिर्नेको सूचीमा राख्दै सरकारले शनिबार विशेष सम्मान पनि गरेको थियो । रोजगारी सिर्जना गर्दै जाने र राज्य कोषमा धेर भन्दा धेरै कर तिर्दै जाने भाटभटेनीको लक्ष्य रहेको उनले बताए । 

प्रकाशित मिति: ३ मंसिर २०८१, सोमबार १५ : ०७ बजे