आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको विवरणअनुसार यस अवधिमा पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख रूपैयाँ बराबरको आयात र ५२ अर्ब ६७ करोड बराबरको निर्यात भएको हो ।
यसरी कूल पाँच खर्ब ६६ अर्ब पाँच करोड ६७ लाखको वैदेशिक व्यापारमा रू चार खर्ब ६० अर्ब ७१ करोड ७३ लाख घाटा देखिएको विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात शून्य दशमलव १७ र निर्यात चार दशमलव १६ प्रतिशतले बढेको छ । नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारतसँग मात्र चार महिनामा रू दुई खर्ब ८१ अर्ब ११ करोड ६६ लाख घाटा व्यहोरेको छ ।
कात्तिक मसान्तसम्ममा भारतबाट तीन खर्ब १६ अर्ब ८८ करोड ५३ लाख बराबरको वस्तु आयात हुँदा ३५ अर्ब ७६ करोड ८७ लाख बराबरको निर्यात भएको छ । त्यस्तै नेपालको अर्को ठूलो वैदेशिक व्यापार हुने मुलुक चीनसँग एक खर्ब तीन अर्ब १८ करोड २५ लाखको आयात र ६८ करोड २३ लाख ७७ हजारको निर्यात हुँदा एक खर्ब दुई अर्ब ५० करोडको व्यापार घाटा देखिएको छ । पहिलो चौमासिकमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा धेरै देखिएको छ ।
कात्तिक मसान्तसम्ममा २९ अर्ब चार करोड २० लाख बराबरको डिजेल, २१ अर्ब ५६ करोड २९ लाख बराबरको पेट्रोल र १८ अर्ब ८५ करोड ९३ लाख बराबरको एलपी ग्यास आयात भएको छ । त्यस्तै रू १५ अर्ब ९६ करोड ९२ लाख बराबरको फलामजन्य वस्तु, रू १३ अर्ब ४० करोड ४८ लाख रूपैयाँ बराबरको स्मार्टफोन आयात भएको विभागको तथ्याङ्कबाट देखिन्छ ।
प्रतिक्रिया