सेयर बजारमा दोहोरो अंकको गिरावट, २ सातामा लगानीकर्ताले गुमाए ३ खर्ब सम्पत्ती


सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार बजार १०.१४ अंकले घटेको हो । योसँगै बजार परिसुचक नेप्से २७०४.७० अंकमा अडिएको छ । आइतबार पनि बजार २१.६३ अंकले घटेको थियो ।

बजारमा आएको निरन्तरको गिरावटसँगै २ साता अवधिको ११ कारोबार दिनमा लगानीकर्ताले ३ खर्ब रुपैयाँ गुमाएका छन् । गत फागुन २० गतेको तुलनामा चैत ४ गते सोमबार बजार समग्र बजार पुँजीकरण ३ खर्ब ८ अर्ब रुपैयाँले घटेको हो ।
सोमबार बजार खुलेपछि केही माथि जान खाजेको बजार क्रमिक रुपमा आरालो लागेको थियो । यस क्रममा ३३१ कम्पनीका ९९ लाख ३५ हजार ८७२ कित्ता सेयरहरु ५७ हजार ५८५ पटक किनबेच हुँदा ५ अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँको कारोबार भएको छ । आइतबार ६ अर्ब ७२ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयरमूल्य १० प्रतिशतले बढेको बजारमा सामुदायिक लघुवित्त, ग्रीन डेभलपमेण्ट बैंक, मानुषी लघुवित्त, इष्टर्न हाइड्रो लगायतका कम्पनीको सेयरमूल्य धेरै बढेको छ । सोमबार ८७ कम्पनीको सेयरमूल्य बढेको छ भने १२ कम्पनीको स्थिर रहेको छ ।

महालक्ष्मी विकास बैंक, घलेम्दी हाइड्रो, विशाल बजार, विन नेपाल लघुवित्त लगायत कम्पनीको सेयर मूल्य धेरै घटेको बजारमा १४४ कम्पनीको सेयर मूल्य घटेको छ ।

हिमालयन रिइन्स्योरेन्सको मात्र ४३ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको बजारमा घलेम्दी हाइड्रोको सबैभन्दा धेरै कित्ता अर्थात ५ लाख ५३ हजार ८०४ कित्ता सेयर किनबेच भएको छ भने सबैभन्दा धेरै पटक किनबेच हुने कम्पनीको सूचीमा ३ हजार ३२७ कारोबार सहित गार्जियन माइक्रोलाइफ शीर्षस्थानमा छ ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९५ अंकले घटेर ४३५.९५ अंकमा झरेको बजारमा कारोबारयोग्य सेयरको मापक फ्लोट इन्डेक्स ०.३७ अंकदे घटेर १८२.९३ अंकमा अडिएको छ ।

समुहगत आधारमा उत्पादन समुहमा सबैभन्दा धेरै अर्थात ३२.७ अंकको सुधार आएको बजारमा होटल समुहमा १२.०३ र वित्त समुहमा ३.१६ अंकको सुधार आएको छ । व्यापार समुहमा १४५.८६ अंकको गिरावट आएको बजारमा जीवन बीमा समुहमा ७०.९६, विकास बैंकमा ५२.९७ अंकको गिरावट आएको छ । बजारको सबैभन्दा ठुलो हिस्सा ओगटेको वाणिज्य बैंक समुहमा २.९५ अंकको गिरावट आएको छ ।

बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरण पनि घटेर ४४ खर्ब ९१ अर्ब ३ करोड ३३ लाख ५५ हजार १३७ रुपैयाँ कायम भएको छ । आइतबार ४५ खर्ब ७ अर्ब ८८ करोड ६८ लाख रुपैयाँको पुजीकरण थियो । गत फागुन २० गते ४७ खर्ब ९९ अर्ब रुपैयाँको बजार पुँजीकरण भएकोमा सोमबारसम्ममा आउँदा उक्त पुँजीकरण ३ खर्ब ८ अर्ब रुपैयाँले घटेको हो ।

प्रकाशित मिति: ४ चैत २०८१, सोमबार  १७ : १५ बजे