ट्रकमा समातिएको अवैध भेप भाटभटेनीको होइन, सांसदहरुको अभिव्यक्तिप्रति ध्यानाकर्षण : भाटभटेनी


भाटभटेनी सुपरमार्केटले सिन्धुपालचोकमा समातिएको अवैध भेप आफ्नो नभएको दाबी गरेको छ । बिहीबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले भेपका सम्बन्धमा प्रतिनिधि सभा बैठकमा संसदहरुले राखेको धारणाप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

भाटभटेनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा माननीयद्वय गंगा कार्की र मनिष झाले व्यक्त गर्नुभएको धारणाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सार्वभौम जनताका प्रतिनिधिमुलक थलो प्रतिनिधिसभामा व्यक्त भएका धारणाहरु तथ्यमा आधारित हुनुपर्छ भन्ने मान्यतामा हामी पनि विश्वास गर्दछौँ । तथापी सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको ‘अवैध भेप’ भाटभटेनीको भनी उहाँहरुले व्यक्त गर्नुभएको धारणामा कुनै पनि सत्यता नभएको स्पष्ट पार्न चाहन्छौँ ।”

तातोपानी भन्सारबाट शिल लगाएर पास गरिएको सामग्रीबाहेक चालक तथा सहचालकले गर्ने हरेक कमजोरीको जिम्मेवारी आयातकर्ताको जिम्मेवारीभित्र नपर्ने भाटभटेनीको दाबी छ । तातोपानीबाट शिल गरिएको कन्टेनरका चालकले आफू बस्ने सिटमुनी राखी ल्याएको ‘अवैध भेप’सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको उल्लेख गरिएको विज्ञप्तिमा भनिएको छ, “भाटभटेनीको भनी जनताका प्रतिनिधिले नै ‘ठोकुवा गर्नु’ खेदजनक कार्य हो । मुलुकको समृद्धि र राष्ट्र निर्माणको अभियानको अग्रणी कर्पोरेट संस्थाका बारेमा फैलाइएको कपोलकल्पित, भ्रामक सूचनाका पछि नलाग्न आम नागरिकमा अपील गर्न चाहन्छौँ ।”

पक्राउ परेका चालकलाई राज्यका निकायले निष्पक्ष ढंगले अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउने विश्वास भाटभटेनीले लिएको विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका चालकलाई अनुसन्धानको दायरामा ल्याएर सत्यतथ्य सार्वजनिक गरिदिन राज्यका सम्बन्धित निकायसँग भाटभटेनीका अध्यक्ष गुरुङले अनुरोध गरेका छन् ।

भाटभटेनी वस्तु व्यापारमा सबैभन्दा बढी कर तिर्ने व्यापारिक संस्था भएको र मुलुकको दीर्घकालीन हित हेर्ने संस्था भएको भन्दै भाटभटेनीले कहिल्यै पनि गलत क्रियाकलापका पछि नलाग्ने बताएको छ ।

“अर्बौँ रुपैयाँ दान दातव्यमा खर्च गरिरहेको संस्थाको बदनामी गराउन ‘अवैध भेप’लाई जोडेर प्रचार गरिनु राम्रो काम गर्ने व्यक्तिको मानसिकता कमजोर तुल्याउने षडयन्त्र हो भन्ने हाम्रो ठहर छ,” विज्ञप्तिमा भनिएको छ, “एकजना चालकले गरेको अपराधसँग जोडेर भाटभटेनीजस्तो अग्रणी कर्पोरेट संस्थाको बदनाम गराउने कार्यमा नलाग्नुहुन पनि अपील गर्दछौँ । साथै सत्ताको नेतृत्व गरिरहनुभएका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, नेकपा एमालेसँग पनि जोडेर राखिएका धारणाको जिम्मेवारी स्वयम् माननीय सदस्यहरू नै हुनुहुनेछ भन्ने हामीलाई लागेको छ ।”

प्रकाशित मिति: ७ चैत २०८१, बिहीबार  १९ : ०६ बजे