नेपाल लेयर्स कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय


चितवन । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् ।

गत वर्ष प्रतिक्रेट (३० गोटा) को पाँच सय २५ रुपैयाँसम्म पुगेको अण्डाको मूल्य घटेर तीन सय ५० रुपैयाँमा पुगेको थियो । अहिले मूल्यमा वृद्धि भएर चार सय ५० रुपैयाँ पुगेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) चार सय ३० रुपैयाँ, मध्यमको तीन सय ८० र ‘एक्सएल’को चार सय ५० रुपैयाँ कायम गरिएको छ । यसअघि ठूलो अण्डाको मूल्य तीन सय ५० रुपैयाँमा झरेको थियो । सङ्घको शनिबार सम्पन्न छलफलले अण्डाको मूल्य बढाउने निर्णय गरेको उनले जानकारी दिए ।

एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) तीन हजार १४० रुपैयाँ, ठूलो अण्डा तीन हजार रुपैयाँ र मझौलाको दुई हजार ६५० रुपैयाँ कायम गरिएको छ । योसँगै किसानलाई केही राहत मिल्ने उनले बताए । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ दशमलव ५६ रुपैयाँ पर्न आउँछ । अण्डाको मूल्य उच्च हुँदा ठूलो अण्डा प्रतिपेटी तीन हजार छ सय ७५ रुपैयाँसम्म पुगेको थियो ।

सो समयमा किसानले उत्पादन मूल्य पाएको भए पनि पछिल्ला दिनमा अण्डाको मूल्य घट्दा किसानले लागत मूल्यसमेत पाउन गाह्रो हुने गरेको पोख्रेलको भनाइ छ । उनले भने, “गर्मीका कारण अण्डा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अण्डाको मूल्य बढेको हो ।” उच्च गर्मीका कारण कुखुरामा विभिन्न खालका रोग देखिँदा उत्पादन निकै घटेको छ ।

सङ्घका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ”, उनले भने, “अण्डाको मूूल्य बढेपछि किसान उत्साहित बनेका छन् । अहिले दैनिक ३० लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।” नेपालमा कुखुरापालक किसानले लागत मूल्य नपाएपछि धेरै विस्थापित भएका छन् । रासस

प्रकाशित मिति: १४ वैशाख २०८२, आइतबार  ०८ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।